YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 9:1-17

लूकाको सुसमाचार 9:1-17 NERV

येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो। येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो। उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रूपियाँ पैसा केही नलैजाऊ। कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस। यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।” त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे। शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।” अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।” हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे। जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानुभयो। तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो। साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।” तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।” प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुइ टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?” त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए। उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।” त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईंमा बसे। येशूले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्राउनु भयो। सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।