YouVersion लोगो
खोज आइकन

लूका 9:1-17

लूका 9:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्‍ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। उहाँले तिनीहरूलाई परमेश्‍वरका राज्‍यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको यात्रामा आफ्‍नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्‌। जुन घरमा तिमीहरू पस्‍छौ त्‍यहीँ बस, र त्‍यहीँबाट बिदा होओ। जहाँ तिमीहरूको स्‍वागत हुँदैन तिमीहरू त्‍यस सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्‍ति टकटक्‍याइदेओ।” तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए। यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्‍योलमा परे, किनकि यूहन्‍ना मृतकबाट जीवित भई उठेका छन्‌ भनेर कसै-कसैले भन्‍थे। र कोही भन्‍थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्‍थे, “उहिलेका अगमवक्ताहरूमध्‍ये एक जना उठेका छन्‌।” तब हेरोदले भने, “यूहन्‍नाको शिर मैले काट्‌न लगाएँ, तर यिनी को हुन्‌ जसको विषयमा म यस्‍ता कुराहरू सुन्‍दैछु?” अनि तिनले उहाँलाई भेट्‌ने इच्‍छा गरे। अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्‍ने सहरमा अलग्‍गै जानुभयो। तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो, र परमेश्‍वरका राज्‍यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्‍यकता थियो तिनीहरूलाई निको पार्नुभयो। अब दिन ढल्‍कन लाग्‍यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्‍ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्‍यवस्‍था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खान देओ।” तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्‍नुपर्ला। तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए। तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्‍तिमा बसाओ।” तिनीहरूले त्‍यसै गरे, र सबैलाई बसाए। तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो। अनि सबैले खाए, तृप्‍त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा। जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।” तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए। अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे। कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे। तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे। जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो। तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो। दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।” उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।” अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:1-17 पवित्र बाइबल (NERV)

येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो। येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो। उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रूपियाँ पैसा केही नलैजाऊ। कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस। यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।” त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे। शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।” अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।” हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे। जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानुभयो। तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो। साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।” तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।” प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुइ टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?” त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए। उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।” त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईंमा बसे। येशूले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्राउनु भयो। सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्

लूका 9:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले बाह्रै चेलाहरूलाई बोलाउनुभयो। तिनीहरूलाई भूत निकाल्‍ने र बिरामीहरूलाई निको पार्ने शक्ति र अधिकार दिएर परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्न र बिरामीहरूलाई निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाटोको लागि केही पनि नलैजाओ। लट्ठी, झोला, फेरफारे लुगा, पैसा र खानेकुरासमेत नबोक। जुन घरका मानिसहरूले तिमीहरूको स्‍वागत गर्छन्, त्‍यस गाउँबाट बिदा नहुञ्‍जेल त्‍यही घरमा बस। कुनै ठाउँका मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिन पैतालाको धुलोसमेत टक्टक्‍याएर त्‍यस ठाउँलाई छोडिदेओ।” चेलाहरूले गाउँ-गाउँमा गएर सुसमाचार प्रचार गर्दै बिरामीहरूलाई निको पारे। रोमी महाराजाको अधीनमा गालील क्षेत्रमा राज्‍य गर्ने हेरोदले येशूले गर्नुभएका कामहरूको चर्चा सुने अनि उनी अलमल्‍ल परे किनभने कतिले “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्,” भन्‍थे। कतिले चाहिँ “एलिया देखा परेछन्,” भन्‍थे। अरूले “कुनै अगमवक्ता मरेकोबाट बिउँतेछन्,” भन्‍थे। हेरोदले चाहिँ यसो भने, “यूहन्‍नाको त मैले नै टाउको काट्‍न लगाएको हुँ। तर ती मानिसचाहिँ को हुन् जसको बारेमा मैले यस्‍ता अनौठा कुराहरू सुन्‍दै छु?” तिनले येशूलाई भेट्‍ने इच्‍छा गरे। येशूले पठाउनुभएका बाह्र जना प्रेरितहरू प्रचार गरेर फर्केपछि उनीहरूले आफूले गरेका सबै कुरा येशूलाई सुनाए। उहाँ तिनीहरूलाई लिई आफूहरू मात्र बेथसेदा सहरमा जानुभयो। तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो र परमेश्‍वरको राज्‍यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो। घाम अस्‍ताउन लागेको बेलामा ती बाह्र जना आएर भने, “यहाँ त केही पनि छैन। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू वरपर गाउँमा गएर आफ्‍नो गाँस-बासको बन्‍दोबस्‍त आफैंले गरून्।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” उनीहरूले भने, “प्रभु, हामीसँग के छ र? पाँच वटा रोटी र दुईटा माछा मात्रै छन्। के हामीले यति धेरै मानिसहरूलाई खानेकुरा किनेर ल्‍याउनू?” त्‍यहाँ लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए। येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानिसहरूलाई पचास-पचासको लहरमा बस्‍न लगाओ।” चेलाहरूले मानिसहरूलाई त्‍यसै गरी बस्‍न लगाए। त्‍यसपछि येशूले पाँच वटा रोटी र दुईटा माछा लिनुभयो र स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो अनि उहाँले रोटी र माछा टुक्रा-टुक्रा पारेर चेलाहरूलाई बाँड्‍न लाउनुभयो। सबैले अघाउञ्‍जेल खाए। उब्रिएका रोटी र माछाका टुक्राहरू उठाउँदा त बाह्र डाला भरिए।

शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्