तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको यात्रामा आफ्नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्। जुन घरमा तिमीहरू पस्छौ त्यहीँ बस, र त्यहीँबाट बिदा होओ। जहाँ तिमीहरूको स्वागत हुँदैन तिमीहरू त्यस सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेओ।” तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए।
यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्योलमा परे, किनकि यूहन्ना मृतकबाट जीवित भई उठेका छन् भनेर कसै-कसैले भन्थे। र कोही भन्थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्थे, “उहिलेका अगमवक्ताहरूमध्ये एक जना उठेका छन्।” तब हेरोदले भने, “यूहन्नाको शिर मैले काट्न लगाएँ, तर यिनी को हुन् जसको विषयमा म यस्ता कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने इच्छा गरे।
अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्ने सहरमा अलग्गै जानुभयो। तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरका राज्यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो।
अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।”
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खान देओ।”
तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्नुपर्ला। तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए।
तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्तिमा बसाओ।” तिनीहरूले त्यसै गरे, र सबैलाई बसाए। तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो। अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।