YouVersion लोगो
खोज आइकन

लूका 9:1-17

लूका 9:1-17 सरल नेपाली

येशूले बाह्रै चेलाहरूलाई बोलाउनुभयो। तिनीहरूलाई भूत निकाल्‍ने र बिरामीहरूलाई निको पार्ने शक्ति र अधिकार दिएर परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्न र बिरामीहरूलाई निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाटोको लागि केही पनि नलैजाओ। लट्ठी, झोला, फेरफारे लुगा, पैसा र खानेकुरासमेत नबोक। जुन घरका मानिसहरूले तिमीहरूको स्‍वागत गर्छन्, त्‍यस गाउँबाट बिदा नहुञ्‍जेल त्‍यही घरमा बस। कुनै ठाउँका मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिन पैतालाको धुलोसमेत टक्टक्‍याएर त्‍यस ठाउँलाई छोडिदेओ।” चेलाहरूले गाउँ-गाउँमा गएर सुसमाचार प्रचार गर्दै बिरामीहरूलाई निको पारे। रोमी महाराजाको अधीनमा गालील क्षेत्रमा राज्‍य गर्ने हेरोदले येशूले गर्नुभएका कामहरूको चर्चा सुने अनि उनी अलमल्‍ल परे किनभने कतिले “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्,” भन्‍थे। कतिले चाहिँ “एलिया देखा परेछन्,” भन्‍थे। अरूले “कुनै अगमवक्ता मरेकोबाट बिउँतेछन्,” भन्‍थे। हेरोदले चाहिँ यसो भने, “यूहन्‍नाको त मैले नै टाउको काट्‍न लगाएको हुँ। तर ती मानिसचाहिँ को हुन् जसको बारेमा मैले यस्‍ता अनौठा कुराहरू सुन्‍दै छु?” तिनले येशूलाई भेट्‍ने इच्‍छा गरे। येशूले पठाउनुभएका बाह्र जना प्रेरितहरू प्रचार गरेर फर्केपछि उनीहरूले आफूले गरेका सबै कुरा येशूलाई सुनाए। उहाँ तिनीहरूलाई लिई आफूहरू मात्र बेथसेदा सहरमा जानुभयो। तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो र परमेश्‍वरको राज्‍यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो। घाम अस्‍ताउन लागेको बेलामा ती बाह्र जना आएर भने, “यहाँ त केही पनि छैन। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू वरपर गाउँमा गएर आफ्‍नो गाँस-बासको बन्‍दोबस्‍त आफैंले गरून्।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” उनीहरूले भने, “प्रभु, हामीसँग के छ र? पाँच वटा रोटी र दुईटा माछा मात्रै छन्। के हामीले यति धेरै मानिसहरूलाई खानेकुरा किनेर ल्‍याउनू?” त्‍यहाँ लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए। येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानिसहरूलाई पचास-पचासको लहरमा बस्‍न लगाओ।” चेलाहरूले मानिसहरूलाई त्‍यसै गरी बस्‍न लगाए। त्‍यसपछि येशूले पाँच वटा रोटी र दुईटा माछा लिनुभयो र स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो अनि उहाँले रोटी र माछा टुक्रा-टुक्रा पारेर चेलाहरूलाई बाँड्‍न लाउनुभयो। सबैले अघाउञ्‍जेल खाए। उब्रिएका रोटी र माछाका टुक्राहरू उठाउँदा त बाह्र डाला भरिए।

लूका 9 पढ्नुहोस्