YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:1-23

भजनसंग्रह 55:1-23 सरल नेपाली

हे परमेश्‍वर! मेरो प्रार्थना सुन्‍नुहोस्, मेरो बिन्‍ती नसुनेझैँ नगर्नुहोस्! मेरो कुरा सुन्‍नुहोस् र उत्तर दिनुहोस्, म चिन्‍ता-फिक्रीले हैरान भएको छु। मेरा शत्रुहरूका धम्‍कीले म डराएको छु, दुष्‍टका सतावटले म चुर-चुर भएको छु, तिनीहरूले मलाई कष्‍ट दिन्‍छन्, तिनीहरू मसँग रिसाएका छन् र मलाई घृणा गर्छन्। म डराएको छु र मृत्‍युको डरले मलाई थिच्‍दछ। डरले मलाई ग्रस्‍त पारेको छ र म काम्‍दै छु, भयङ्कर डरले मलाई थिचेको छ। यदि मेरा परेवाका जस्‍ता पखेटा हुँदो हो ता, म उडी जानेथिएँ र विश्राम लिनेथिएँ। म टाढा उडी जानेथिएँ र मरुभूमिमा मेरो बासस्‍थान बनाउनेथिएँ। डरलाग्‍दो हुरी र आँधीबाट म चाँडै आश्रय खोज्‍नेथिएँ, हे प्रभु! मेरा शत्रुहरूका भाषा खलबल्‍याइदिनुहोस्। मैले सहरमा हिँसा र दङ्गा भएको देख्‍दछु, रात-दिन तिनीहरूले सहरका पर्खालमा चढेर त्‍यहाँ अपराध र उपद्रव गर्दछन्। चारैतिर विनाश भएको छ, सडकहरू छल र थिचो-मिचोले भरिएका छन्। त्‍यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्‍यसलाई सहन सक्‍थें। त्‍यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्‍योदेखि लुक्‍नेथिएँ। तर त्‍यो त तिमी मेरा मित्र हौ, मसँग काम गर्ने र मेरा हितका साथी! हामी आपसमा मनका कुरा खोलेर गर्थ्‍यौं र मन्‍दिरमा एकसाथ आराधना गर्थ्‍यौं। तिनीहरूको समय आउनुअघि नै मेरा शत्रुहरू मरून्। जिउँदै तिनीहरू मृत्‍यु-लोकमा पुगून्। तिनीहरूका घर-परिवार र हृदय खराबीले भरिएको छ। तर म परमप्रभु परमेश्‍वरलाई सहायताको लागि प्रार्थना गर्छु र उहाँले मलाई बचाउनुहुन्‍छ। बिहान, दिउँसो र राती म मेरा उजूर र पीडाका पुकार उहाँलाई चढाउँछु, उहाँले मेरो सोर सुन्‍नुहुन्‍छ। मेरा धेरै शत्रुहरूसँग म लड्दछु, उहाँले मलाई ती लडाइँहरूदेखि सकुशल फर्काइल्‍याउनुहुन्‍छ। सनातन कालदेखि राज्‍य गर्नुहुने परमेश्‍वरले मेरो बिन्‍ती सुन्‍नुहुन्‍छ र मेरा शत्रुहरूको हार गराउनुहुन्‍छ किनभने तिनीहरू मन फर्काउन चाहँदैनन् र उहाँको डर मान्‍दैनन्। मेरा पहिलेका साथीहरूले आफ्‍नै साथीहरूमाथि आक्रमण गरे। उनीहरूले आफ्‍ना प्रतिज्ञाहरू भङ्ग गरे। उनीहरूको बोली नौनीभन्दा चिप्‍लो थियो, तर हृदयमा घृणा थियो; उनीहरूको बोली तेलजस्‍तै चिप्‍लो गराउने थियो, तर धारिलो तरवारझैँ त्‍यसले काट्दथ्‍यो। आफ्‍ना दु:ख-कष्‍ट परमप्रभुकहाँ छोडिदेऊ र उहाँले सम्‍हाल्‍नुहुनेछ। उहाँले इमानदार मानिसहरूलाई हार्न दिनुहुन्‍न। तर हे परमेश्‍वर! तपाईंले ती हत्‍यारा र झूटो बोल्‍नेहरूलाई आधा बैंसमा नै मृत्‍युका शिकार बनाउनुहुनेछ। मचाहिँ तपाईंमा भरोसा राख्‍नेछु।

भजनसंग्रह 55 पढ्नुहोस्