YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:1-23

भजनसंग्रह 55:1-23 NNRV

मेरो प्रार्थना सुनिदिनुहोस्‌, हे परमेश्‍वर, र मेरो विनयबाट मुख नमोड्‌नुहोस्‌। मतिर ध्‍यान दिनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌। मेरो मनका विचारले म दु:खित छु, म व्‍याकुल छु, मेरा शत्रुको आवाजदेखि, दुष्‍टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन्‌ र क्रोधमा तिनीहरू भर्त्‍सना गर्छन्‌। मेरो हृदय मभित्र ज्‍यादै वेदनामा छ, र मृत्‍युको त्रासले मलाई छोपेको छ। डर र कम्‍पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ। मैले भनें, “ढुकुरका जस्‍तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ। उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्‍नेथिएँ। सेला आँधी र तूफानबाट टाढ़ा, मेरो शरणस्‍थानतिर आतुरी गरेर जानेथिएँ।” हे परमप्रभु, दुष्‍टहरूका योजनाहरू नष्‍ट गरिदिनुहोस्‌। तिनीहरूको भाषा खलबल्‍याइदिनुहोस्‌, किनकि म सहरमा हिंसा र झगड़ा देख्‍तछु। दिनरात तिनीहरू त्‍यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्‍छन्‌, अधर्म र उपद्रव त्‍यसभित्र छन्‌। विध्‍वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्‌, धम्‍की र झूटले त्‍यसका सड़कहरू कहिल्‍यै छोड़ेर जाँदैनन्‌। यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्‍यो म सहन सक्‍नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्‍योदेखि म लुक्‍न सक्‍नेथिएँ। तर त्‍यो त तिमी नै हौ, मजस्‍तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र। तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्‍थ्‍यो, जसै हामी मानिसको समूहसित परमेश्‍वरको भवनमा हिँड्‌थ्‍यौं। मृत्‍युले मेरा शत्रुहरूलाई अचानक निलोस्‌। तिनीहरू जिउँदै चिहानमा जाऊन्‌, किनकि दुष्‍टता तिनीहरूकै बीचमा वास गर्दछ। तर म त परमेश्‍वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्‍छ। बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्‍नुहुन्‍छ। म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्‍छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्‌। सनातनदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वरले सुन्‍नुहुनेछ र तिनीहरूलाई वेदना दिनुहुनेछ। सेला किनभने तिनीहरू आफ्‍नो बाटो कहिल्‍यै सुधार्दैनन्‌, र परमेश्‍वरको भय मान्‍दैनन्‌। मेरा साथीले तिनका आफ्‍ना मित्रहरूमाथि आक्रमण गर्छन्‌, तिनले आफ्‍नो करार भङ्ग गरेका छन्‌। तिनको बोली घिउजस्‍तै चिप्‍लो छ, तर तिनको हृदयमा झगड़ा छ। तिनका कुराहरू तेलभन्‍दा पनि आरामदायक छ, तर ती नाङ्गा तरवार हुन्‌। तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन। तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्‍यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्‍म पनि जिउनेछैनन्‌। तर म त तपाईंमा भरोसा राख्‍तछु।