भजनसंग्रह 55
55
साथीले धोका दिएको मानिसको प्रार्थना
1हे परमेश्वर! मेरो प्रार्थना सुन्नुहोस्,
मेरो बिन्ती नसुनेझैँ नगर्नुहोस्!
2मेरो कुरा सुन्नुहोस् र उत्तर दिनुहोस्,
म चिन्ता-फिक्रीले हैरान भएको छु।
3मेरा शत्रुहरूका धम्कीले म डराएको छु,
दुष्टका सतावटले म चुर-चुर भएको छु,
तिनीहरूले मलाई कष्ट दिन्छन्,
तिनीहरू मसँग रिसाएका छन् र मलाई घृणा गर्छन्।
4म डराएको छु
र मृत्युको डरले मलाई थिच्दछ।
5डरले मलाई ग्रस्त पारेको छ
र म काम्दै छु, भयङ्कर डरले मलाई थिचेको छ।
6यदि मेरा परेवाका जस्ता पखेटा हुँदो हो ता,
म उडी जानेथिएँ र विश्राम लिनेथिएँ।
7म टाढा उडी जानेथिएँ
र मरुभूमिमा मेरो बासस्थान बनाउनेथिएँ।
8डरलाग्दो हुरी र आँधीबाट
म चाँडै आश्रय खोज्नेथिएँ,
9हे प्रभु! मेरा शत्रुहरूका भाषा खलबल्याइदिनुहोस्।
मैले सहरमा हिँसा र दङ्गा भएको देख्दछु,
10रात-दिन तिनीहरूले सहरका पर्खालमा चढेर
त्यहाँ अपराध र उपद्रव गर्दछन्।
11चारैतिर विनाश भएको छ,
सडकहरू छल र थिचो-मिचोले भरिएका छन्।
12त्यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता,
म त्यसलाई सहन सक्थें।
त्यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता,
म त्योदेखि लुक्नेथिएँ।
13तर त्यो त तिमी मेरा मित्र हौ,
मसँग काम गर्ने र मेरा हितका साथी!
14हामी आपसमा मनका कुरा खोलेर गर्थ्यौं
र मन्दिरमा एकसाथ आराधना गर्थ्यौं।
15तिनीहरूको समय आउनुअघि नै मेरा शत्रुहरू मरून्।
जिउँदै तिनीहरू मृत्यु-लोकमा पुगून्।
तिनीहरूका घर-परिवार र हृदय खराबीले भरिएको छ।
16तर म परमप्रभु परमेश्वरलाई सहायताको लागि प्रार्थना गर्छु
र उहाँले मलाई बचाउनुहुन्छ।
17बिहान, दिउँसो र राती
म मेरा उजूर र पीडाका पुकार उहाँलाई चढाउँछु,
उहाँले मेरो सोर सुन्नुहुन्छ।
18मेरा धेरै शत्रुहरूसँग म लड्दछु,
उहाँले मलाई ती लडाइँहरूदेखि सकुशल फर्काइल्याउनुहुन्छ।
19सनातन कालदेखि राज्य गर्नुहुने परमेश्वरले मेरो बिन्ती सुन्नुहुन्छ
र मेरा शत्रुहरूको हार गराउनुहुन्छ
किनभने तिनीहरू मन फर्काउन चाहँदैनन्
र उहाँको डर मान्दैनन्।
20मेरा पहिलेका साथीहरूले आफ्नै साथीहरूमाथि आक्रमण गरे।
उनीहरूले आफ्ना प्रतिज्ञाहरू भङ्ग गरे।
21उनीहरूको बोली नौनीभन्दा चिप्लो थियो,
तर हृदयमा घृणा थियो;
उनीहरूको बोली तेलजस्तै चिप्लो गराउने थियो,
तर धारिलो तरवारझैँ त्यसले काट्दथ्यो।
22आफ्ना दु:ख-कष्ट परमप्रभुकहाँ छोडिदेऊ
र उहाँले सम्हाल्नुहुनेछ।
उहाँले इमानदार मानिसहरूलाई हार्न दिनुहुन्न।
23तर हे परमेश्वर! तपाईंले ती हत्यारा र झूटो बोल्नेहरूलाई
आधा बैंसमा नै मृत्युका शिकार बनाउनुहुनेछ।
मचाहिँ तपाईंमा भरोसा राख्नेछु।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 55: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.