परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू कोही वा तिम्रा कुनै सन्तान लाश छोएर अशुद्ध भएको छ वा टाढा यात्रामा गएको छ तर त्यसले निस्तार-चाड मनाउन चाहन्छ नै भने तिनीहरूले एक महिनापछि सो चाड मनाउन पाउनेछन्। त्यस्ताहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझमा अखमिरी रोटी र तीतो साग खाएर चाड मनाउनेछन्। कुनै पनि खानेकुरा भोलिपल्ट बिहानसम्म नउबार्नू र पशुको कुनै पनि हड्डी नभाँच्नू। सबै नियमअनुसार निस्तार-चाड मनाउनू। तर जो अशुद्ध छैन वा टाढा यात्रामा छैन र पनि त्यसले निस्तारचाड मनाएन भने त्यसलाई फेरि मेरो प्रजा हो भनी मानिनेछैन किनभने त्यसले तोकिएको समयमा मलाई भेटी चढाएन। त्यसले आफ्नो पापको फल भोग्नेछ। “तिमीहरूका माझमा बास गर्ने विदेशीहरूले निस्तार-चाड मनाउन चाहन्छन् भने तिनीहरूले सारा व्यवस्था र नियमहरू मान्नुपर्नेछ। विदेशी वा स्वदेशी सबैलाई एउटै नियम लागू हुनेछ।” जुन दिन परमप्रभुले बास गर्ने पवित्र पाल स्थापना गरियो, त्यस दिन बादल आएर त्यसलाई ढाक्यो। राती त्यो बादल आगोजस्तो देखिन्थ्यो। जब त्यो बादल सर्दथ्यो, इस्राएलीहरूले छाउनी उठाउँथे र जुन ठाउँमा त्यो बादल बस्दथ्यो, त्यहाँ फेरि छाउनी हाल्थे। परमप्रभुको आज्ञामा इस्राएलीहरूले छाउनी उठाउँथे, उहाँको आज्ञामा तिनीहरूले छाउनी लाउँथे। जबसम्म बादलमाथि रहन्थ्यो, तिनीहरू त्यहाँ छाउनीमा बसिरहन्थे। पवित्र पालमाथि धेरै बेरसम्म बादल रहिरहे तिनीहरू परमप्रभुको आदेश मानेर अघि बढ्दैनथे। कहिलेकाहीँ बादल थोरै दिन मात्र पवित्र पालमाथि रहन्थ्यो। जे भए पनि तिनीहरू परमप्रभुको आज्ञाअनुसार छाउनीमा बसिरहन्थे वा अघि बढ्थे। कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो र बादल सर्ने बित्तिकै तिनीहरू हिँड्थे। दिन वा रातमा जब बादल सर्दथ्यो, तब तिनीहरू अघि बढ्थे। दुई दिन, महिना दिन, वर्ष दिन वा त्योभन्दा धेरै, जबसम्म बादल पवित्र पालमाथि रहन्थ्यो, तिनीहरू बढ्दैनथे। तर जब त्यो सर्दथ्यो, तिनीहरू अघि बढ्थे। परमप्रभुले तिनीहरूलाई मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूल छाउनी हाल्थे वा उठाउँथे।
गन्ती 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 9:9-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू