त्यसपछि याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूका सन्तान लासलाई छोएको कारण अशुद्ध भयो भने अथवा टाढाको यात्रामा छन् भने पनि तिनीहरूले याहवेहको निस्तार चाड मनाउन सक्छन्। तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्। तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्। तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ। “ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ” समागम पाल, साक्षी पाटीको पाल स्थापना गरेको दिन बादलले त्यसलाई ढाक्यो। साँझदेखि बिहानसम्म समागम पालमाथिको बादल आगोजस्तै देखिन्थ्यो। यस्तै निरन्तर भइरह्यो। जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब इस्राएलीहरू प्रस्थान गर्थे। जब बादल अडिन्थ्यो, तब इस्राएलीहरूले पाल टाँग्ने गर्थे। यसरी याहवेहको आज्ञाअनुसार इस्राएलीहरू प्रस्थान गर्थे; र उहाँकै आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे। जबसम्म बादल समागम पालमाथि रहन्थ्यो, तबसम्म तिनीहरू छाउनीमै रहन्थे। जब समागम पालमाथि बादल लामो समयसम्म रहन्थ्यो, तब इस्राएलीहरूले याहवेहको आज्ञा मान्दथे, र प्रस्थान गर्दैनथे। कहिलेकाहीँ बादल समागम पालमाथि केही दिनका लागि मात्र रहन्थ्यो। याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे, र त्यसपछि उहाँकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो। अनि बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। चाहे दिन होस् अथवा रात, जब बादल हट्थ्यो, तब तिनीहरू प्रस्थान गर्थे। चाहे बादल दुई दिन अथवा एक महिना वा एक वर्षसम्म समागम पालमाथि रहिरहोस्, तापनि इस्राएलीहरू प्रस्थान नगरी पालमै बस्दथे। तर जब बादल हट्थ्यो, तब तिनीहरू फेरि प्रस्थान गर्थे। याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे।
गन्ती 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 9:9-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू