YouVersion लोगो
खोज आइकन

मत्ती 17:14-23

मत्ती 17:14-23 सरल नेपाली

येशू चेलाहरूसँग मानिसको हुल भएको ठाउँमा फर्की आउनुहुँदा एउटा मानिसले येशूको पाउमा परेर भन्‍यो, “हजुर, मेरो छोरोलाई दया गर्नुहोस्! छारेरोग लागेकोले उसले असाध्‍यै दु:ख पाइरहेको छ। ऊ घरीघरी मुर्छा पर्छ र आगो वा पानीमा परिरहन्‍छ। मैले उसलाई हजुरका चेलाहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले त निको पार्न सकेनन्।” येशूले भन्‍नुभयो, “कस्‍ता विश्‍वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिन्‍जेलसम्‍म सहिरहने? खै त्‍यसलाई यता ल्‍याओ।” अनि येशूले त्‍यस भूतलाई हकारेर धपाउनुभयो र त्‍यो केटा तुरुन्‍तै निको भयो। पछि चेलाहरूले येशूलाई एकान्‍तमा सोधे, “हामीहरूले चाहिँ त्‍यस भूतलाई किन निकाल्‍न सकेनौं?” येशूले भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कम भएकोले गर्दा हो। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्‍वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्‍नेछौ। [तर त्‍यस किसिमको भूत त प्रार्थनाद्वारा र उपवास बसेर मात्र निकाल्‍न सकिन्‍छ।”] चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्‍पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यो सुनेर चेलाहरू खिन्‍न भए।

मत्ती 17 पढ्नुहोस्