मानिसका भीडहरूलाई यी शिक्षाहरू दिइसक्नुभएपछि येशू कफर्नहुमतिर जानुभयो। त्यहाँ रोमी कप्तानको औधी प्यारो नोकर बिरामी भएर मर्नै आँटेको थियो। येशूको बारेमा सुनेपछि ती कप्तानले केही यहूदी अगुवाहरूलाई पठाए र आएर ‘मेरो नोकरलाई निको पारिदिनुहोस्’ भन्ने बिन्ती चढाउन लगाए। ती अगुवाहरूले येशूकहाँ आएर बिन्ती चढाउँदै भने, “रोमी कप्तान साँच्चै तपाईंको सहायता पाउने योग्यका मानिस हुन्। उनले हाम्रो जातिलाई माया गर्छन् र हाम्रो लागि एउटा सभाघर पनि बनाइदिएका छन्।” यस्तो बिन्ती सुनेर येशू तिनीहरूसँगै जानुभयो। घरको नजिक आइपुग्नुहुँदा कप्तानले आफ्ना साथीहरूलाई येशूकहाँ यस्तो खबर पठाए, “हजुर दु:ख नगर्नुहोस्, हजुरलाई आफ्नो घरभित्र लैजाने लायकको म छैनँ नता म आफैं पनि हजुरको सामुन्ने आउन लायकको छु। तर हजुरले आज्ञा दिनुहोस् र मेरो नोकर निको भइहाल्छ। म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्छु, त्यो जान्छ, अर्कोलाई ‘आइज’ भन्छु, त्यो आउँछ अनि आफ्नो नोकरलाई पनि ‘यसो गर्’ भन्छु, त्यसले गरिहाल्छ।” यो कुरा सुनेर येशू छक्कै पर्नुभयो अनि आफ्ना पछि लागेका मानिसहरूका हुलतिर हेरेर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्छु, यति ठूलो विश्वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैन।” ती खबर ल्याउने साथीहरू घर फर्कंदा त्यो नोकरचाहिँ निको भइसकेको थियो।
लूका 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 7:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू