YouVersion लोगो
खोज आइकन

लूका 7:1-10

लूका 7:1-10 NNRV

आफ्‍ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो। कुनै एक जना कप्‍तानको एक जना प्‍यारो कमारो थियो, जो बिरामी भएर मर्नै लागेको थियो। जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस्‌ भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्‍ती गर्न पठाए। तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्‍ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्‍यका छन्, किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्‌।” येशू तिनीहरूसाथ जानुभयो। कप्‍तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्‍तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्‍यको म छैनँ, मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्‍यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ। किनकि म पनि अख्‍तियारमुनि बस्‍ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एउटालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यो गर्‌’ भन्‍छु, अनि त्‍यसले गर्छ।” यो कुरा सुनेर येशू तिनीसँग आश्‍चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, मैले इस्राएलमा पनि यस्‍तो ठूलो विश्‍वास देखेको छैनँ।” जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्‍यस कमारालाई निको भएको भेट्टाए।