YouVersion लोगो
खोज आइकन

लूका 7:1-10

लूका 7:1-10 नेपाली समकालीन संस्करण (NCV)

येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि, उहाँ कफर्नहुममा आउनुभयो। त्यहाँ एकजना कप्‍तानको तिनले अति माया गर्ने सेवक बिरामी भएर मर्नै लागेको अवस्थामा थियो। ती कप्‍तानले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन विन्ती गर्न पठाए। येशूकहाँ आएपछि तिनीहरूले उहाँलाई आग्रहपूर्वक विन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्, किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रो सभाघर पनि बनाइदिएका हुन्।” अनि येशू तिनीहरूसँग जानुभयो। उहाँ घर नजिकै आइपुग्नुहुँदा कप्‍तानले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्‍न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको म छैनँ। त्यसकारण म आफैलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस् र मेरो सेवक निको हुनेछ। किनकि म आफू पनि अधिकारमुनि रहने मानिस हुँ, अनि मेरा अधीनतामा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु अनि त्यो जान्छ, अनि अर्कोलाई ‘आइज,’ भन्छु, अनि त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, अनि त्यसले त्यो गर्छ।” यो सुनेपछि येशू तिनीसँग आश्‍चर्य चकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यति ठूलो विश्‍वास इस्राएलीहरूमा पनि देखेको छैनँ।” त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के, र सेवकलाई निको भइसकेको भेट्टाए।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्

लूका 7:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो। कुनै एक जना कप्‍तानको एक जना प्‍यारो कमारो थियो, जो बिरामी भएर मर्नै लागेको थियो। जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस्‌ भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्‍ती गर्न पठाए। तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्‍ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्‍यका छन्, किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्‌।” येशू तिनीहरूसाथ जानुभयो। कप्‍तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्‍तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्‍यको म छैनँ, मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्‍यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ। किनकि म पनि अख्‍तियारमुनि बस्‍ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एउटालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यो गर्‌’ भन्‍छु, अनि त्‍यसले गर्छ।” यो कुरा सुनेर येशू तिनीसँग आश्‍चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, मैले इस्राएलमा पनि यस्‍तो ठूलो विश्‍वास देखेको छैनँ।” जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्‍यस कमारालाई निको भएको भेट्टाए।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्

लूका 7:1-10 पवित्र बाइबल (NERV)

जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो। कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो। जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो। ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ। तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।” यसकारण येशू ती मानिसहरूसँग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, “हे प्रभु, तपाईं मेरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन। यसकारण म आफैं पनि तपाँईकहाँ मानसँगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ। तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।” जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।” येशूलाई बोलाउन गएका सबै मानिसहरू घर फर्किए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्

लूका 7:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मानिसका भीडहरूलाई यी शिक्षाहरू दिइसक्‍नुभएपछि येशू कफर्नहुमतिर जानुभयो। त्‍यहाँ रोमी कप्‍तानको औधी प्‍यारो नोकर बिरामी भएर मर्नै आँटेको थियो। येशूको बारेमा सुनेपछि ती कप्‍तानले केही यहूदी अगुवाहरूलाई पठाए र आएर ‘मेरो नोकरलाई निको पारिदिनुहोस्’ भन्‍ने बिन्‍ती चढाउन लगाए। ती अगुवाहरूले येशूकहाँ आएर बिन्‍ती चढाउँदै भने, “रोमी कप्‍तान साँच्‍चै तपाईंको सहायता पाउने योग्‍यका मानिस हुन्। उनले हाम्रो जातिलाई माया गर्छन् र हाम्रो लागि एउटा सभाघर पनि बनाइदिएका छन्।” यस्‍तो बिन्‍ती सुनेर येशू तिनीहरूसँगै जानुभयो। घरको नजिक आइपुग्‍नुहुँदा कप्‍तानले आफ्‍ना साथीहरूलाई येशूकहाँ यस्‍तो खबर पठाए, “हजुर दु:ख नगर्नुहोस्, हजुरलाई आफ्‍नो घरभित्र लैजाने लायकको म छैनँ नता म आफैं पनि हजुरको सामुन्‍ने आउन लायकको छु। तर हजुरले आज्ञा दिनुहोस् र मेरो नोकर निको भइहाल्‍छ। म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्‍छु, त्‍यो जान्‍छ, अर्कोलाई ‘आइज’ भन्‍छु, त्‍यो आउँछ अनि आफ्‍नो नोकरलाई पनि ‘यसो गर्‌’ भन्‍छु, त्‍यसले गरिहाल्‍छ।” यो कुरा सुनेर येशू छक्‍कै पर्नुभयो अनि आफ्‍ना पछि लागेका मानिसहरूका हुलतिर हेरेर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, यति ठूलो विश्‍वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैन।” ती खबर ल्‍याउने साथीहरू घर फर्कंदा त्‍यो नोकरचाहिँ निको भइसकेको थियो।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्