यो दृष्टान्त भन्नुभएपछि येशू तिनीहरूको अघिअघि यरूशलेमको बाटो लाग्नुभयो। बेथफागे र बेथानिया गाउँ छेउको जैतुन डाँडामा आइपुग्नुहुँदा येशूले दुई चेलाहरूलाई यसो भनी पठाउनुभयो, “ऊ त्यो पल्लो गाउँमा जाओ। त्यहाँ तिमीहरूले कहिल्यै कोही पनि नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ। यदि कसैले ‘यसलाई किन फुकाएको’ भनी सोध्यो भने, ‘प्रभुलाई चाहिएको छ’ भन।” ती दुई चेला गाउँमा गए र येशूले भन्नुभएजस्तै गधाको बछेडा भेटाए। त्यसलाई फुकाउन लाग्दा त्यसका धनीहरूले सोधे, “किन फुकाएको हँ?” “प्रभुलाई यो चाहिएको छ,” तिनीहरूले जवाफ दिए। तिनीहरूले गधाको बछेडालाई लगेर त्यसको पिठ्युँमा आफ्ना खास्टो ओछ्याइदिए अनि येशू त्यसमाथि चढ्नुभयो। येशू अघि बढ्दै गर्नुहुँदा मानिसहरूले पनि आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। येशू यरूशलेमको नजिकै जैतुन डाँडाको ओह्रालोमा आइपुग्नुभयो। त्यस बेला येशूले गर्नुभएका शक्तिशाली कामहरू सम्झेर सबै चेलाहरूले रमाउँदै ठूलो सोरमा परमेश्वरको जयजयकार गाउन थाले– “प्रभु परमेश्वरको नाउँमा आउनुहुने महाराजा कति धन्य हुनुहुन्छ! स्वर्गमा शान्ति होस्! परमेश्वरको महिमा होस्!” मानिसको घुइँचोबाट फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई चुप गराउनुहोस्।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने त ढुङ्गाहरू पो कराउनेछन्।”
लूका 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 19:28-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू