येशूले यी कुरा भन्नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो। जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ। कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।” ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो त्यस्तै भेट्टाए। तिनीहरूले बछेड़ो फुकाउन लाग्दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?” तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।” चेलाहरूले त्यसलाई येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्यसमाथि बसाए। उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए। उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।” अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।”
लूका 19 पढ्नुहोस्
सुन्नुहोस् लूका 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 19:28-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू