YouVersion लोगो
खोज आइकन

लेवी 26:1-13

लेवी 26:1-13 सरल नेपाली

परमप्रभुले भन्‍नुभयो, “पुज्‍नको निम्‍ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्‍बा वा कुँदेको ढुङ्गा नराख्‍नू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। धार्मिक चाडहरू मान्‍ने गर्नू र मेरो आराधना गरिने स्‍थानलाई आदर गर्नू। म परमप्रभु हुँ। “तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्‍न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्। तिम्रा खेतको उब्‍जनी यति प्रशस्‍त हुनेछ कि अङ्‌गुर टिप्‍ने बेला भइसक्‍दा पनि तिमीहरू आफ्‍ना अन्‍नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्‍न लाउने समय आइसक्‍दा अङ्‌गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्‍त हुनेछ र आफ्‍ना देशमा सुरक्षासित बास गर्नेछौ। “म तिमीहरूका देशमा शान्‍ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्‍नेछौ। तिमीहरूका देशबाट डरलाग्‍दा जनावरहरू हटाउनेछु र त्‍यहाँ लडाइँ हुनेछैन। तिमीहरूले आफ्‍ना बैरीहरूलाई जित्‍नेछौ। तिमीहरू पाँच जनाले सय जनालाई जित्‍न सक्‍नेछौ अनि सय जनाले दश हजारलाई जित्‍न सक्‍नेछौ। म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु। तिमीहरूका अन्‍नबाली यति प्रशस्‍त हुनेछ कि त्‍यो वर्षभरि तिमीहरूलाई पर्याप्‍त हुनेछ। अनि नयाँ फसल राख्‍नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्‍न फ्‍याँकिदिनुपर्नेछ। म तिमीहरूका माझमा आफ्‍नो पवित्र पालमा बास गर्नेछु र कहिल्‍यै तिमीहरूलाई त्‍याग्‍नेछैनँ। म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्‍ने तुल्‍याएँ।”

लेवी 26 पढ्नुहोस्