लेवीहरू 26:1-13
लेवीहरू 26:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाओ। अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड़्याएर ती पुज्नलाई घोप्टो नपर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्थानको आदर गर। म परमप्रभु हुँ। “‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्। दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्मै दाख बटुल्नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्क हुनेछौ। “‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ। तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्। “‘म तिमीहरूमाथि निगाह राख्नेछु, र तिमीहरूलाई फल्दो-फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु। तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्नचाहिँ हटाउनुपर्नेछ। तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु। म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्ने तुल्याएको छु।
लेवीहरू 26:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ। “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्यौ भने, म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्। अङ्गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ। “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। “ ‘म तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु। तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ। म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ। म तिमीहरूको बीचमा हिँड्डुल गर्नेछु, र तिमीहरूका परमेश्वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।
लेवीहरू 26:1-13 पवित्र बाइबल (NERV)
“तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। “मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ। “मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर। यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्। तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ। म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन। “तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ। तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ। “म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु। तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ बर्षको खेती उठाउँदा पनि पुरानो बर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन। तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन। म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।
लेवीहरू 26:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले भन्नुभयो, “पुज्नको निम्ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्बा वा कुँदेको ढुङ्गा नराख्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। धार्मिक चाडहरू मान्ने गर्नू र मेरो आराधना गरिने स्थानलाई आदर गर्नू। म परमप्रभु हुँ। “तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्यौ भने म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्। तिम्रा खेतको उब्जनी यति प्रशस्त हुनेछ कि अङ्गुर टिप्ने बेला भइसक्दा पनि तिमीहरू आफ्ना अन्नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्न लाउने समय आइसक्दा अङ्गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्त हुनेछ र आफ्ना देशमा सुरक्षासित बास गर्नेछौ। “म तिमीहरूका देशमा शान्ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्नेछौ। तिमीहरूका देशबाट डरलाग्दा जनावरहरू हटाउनेछु र त्यहाँ लडाइँ हुनेछैन। तिमीहरूले आफ्ना बैरीहरूलाई जित्नेछौ। तिमीहरू पाँच जनाले सय जनालाई जित्न सक्नेछौ अनि सय जनाले दश हजारलाई जित्न सक्नेछौ। म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु। तिमीहरूका अन्नबाली यति प्रशस्त हुनेछ कि त्यो वर्षभरि तिमीहरूलाई पर्याप्त हुनेछ। अनि नयाँ फसल राख्नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्न फ्याँकिदिनुपर्नेछ। म तिमीहरूका माझमा आफ्नो पवित्र पालमा बास गर्नेछु र कहिल्यै तिमीहरूलाई त्याग्नेछैनँ। म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्ने तुल्याएँ।”