लेवी 26
26
आज्ञा मान्नाले आशिष्हरू
(व्यवस्था ७:१२-२४; २८:१-१४)
1 #
लेवी 19:4;
प्रस्थान 20:4; व्यवस्था 5:8; 16:21,22; 27:1 परमप्रभुले भन्नुभयो, “पुज्नको निम्ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्बा वा कुँदेको ढुङ्गा नराख्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 2धार्मिक चाडहरू मान्ने गर्नू र मेरो आराधना गरिने स्थानलाई आदर गर्नू। म परमप्रभु हुँ।
3 #
व्यवस्था 11:13-15; 28:1-14 “तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्यौ भने 4म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्। 5तिम्रा खेतको उब्जनी यति प्रशस्त हुनेछ कि अङ्गुर टिप्ने बेला भइसक्दा पनि तिमीहरू आफ्ना अन्नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्न लाउने समय आइसक्दा अङ्गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्त हुनेछ र आफ्ना देशमा सुरक्षासित बास गर्नेछौ।
6“म तिमीहरूका देशमा शान्ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्नेछौ। तिमीहरूका देशबाट डरलाग्दा जनावरहरू हटाउनेछु र त्यहाँ लडाइँ हुनेछैन। 7तिमीहरूले आफ्ना बैरीहरूलाई जित्नेछौ। 8तिमीहरू पाँच जनाले सय जनालाई जित्न सक्नेछौ अनि सय जनाले दश हजारलाई जित्न सक्नेछौ। 9म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु। 10तिमीहरूका अन्नबाली यति प्रशस्त हुनेछ कि त्यो वर्षभरि तिमीहरूलाई पर्याप्त हुनेछ। अनि नयाँ फसल राख्नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्न फ्याँकिदिनुपर्नेछ। 11म तिमीहरूका माझमा आफ्नो पवित्र पालमा बास गर्नेछु र कहिल्यै तिमीहरूलाई त्याग्नेछैनँ। 12#२ कोरिन्थी 6:16म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ। 13म परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्ने तुल्याएँ।”
आज्ञा नमान्नाले दण्डहरू
(व्यवस्था २८:१५-६८)
14 #
व्यवस्था 28:15-68
परमप्रभुले भन्नुभयो, “तिमीहरूले मेरा आज्ञा मानेनौ भने दण्ड पाउनेछौ। 15तिमीहरूले मेरा नियम, मेरा आज्ञाहरू पालन गर्न इन्कार गर्यौ र मैले तिमीहरूसित बाँधेको करार भङ्ग गर्यौ भने 16म तिमीहरूलाई दण्ड दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु– तिमीहरूको ज्यान सुकाउने अनि तिमीहरूलाई अन्धा पार्ने र निको पार्न नसकिने बिरामी र ज्वरोहरू ल्याउनेछु। तिमीहरूले अन्न लाउनेछौ तर त्यसबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिम्रा शत्रुहरूले तिमीहरूलाई विजय गर्नेछन् र तिमीहरूका उब्जनी खानेछन्। 17म तिमीहरूका विरुद्धमा खडा हुनेछु र तिमीहरू हार्नेछौ। जसले तिमीहरूलाई घिनाउँछन् तिनीहरूले तिमीहरूमाथि राज्य गर्नेछन्। तिमीहरू यति साह्रो डराउनेछौ कि कसैले नदेखेको बेलामा पनि दगुरेर भाग्नेछौ।
18“यी सबै भइसकेपछि पनि तिमीहरूले मेरा आज्ञा मानेनौ भने म तिमीहरूको दण्ड सात गुणा बढाइदिनेछु। 19म तिमीहरूको हठीपन तोड्नेछु। पानी पर्नेछैन र तिमीहरूका जमिन सुक्खा र फलामजस्तै साह्रो हुनेछ। 20तिम्रा सारा कठोर मेहनतबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिमीहरूका खेतमा अन्न उब्जनेछैन अनि रूखहरूमा फल फल्नेछैन।
21“तिमीहरूले अझै मेरो विरोध गर्यौ र आज्ञा मानेनौ भने म तिमीहरूको दण्ड अरू सात गुणा बढाउनेछु। 22म तिमीहरूका बीचमा डरलाग्दा जनावरहरू पठाउनेछु र तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मार्नेछन् र तिमीहरूका गाई-वस्तुहरू नाश पार्नेछन्। तिमीहरूको सङ्ख्या यति कम हुनेछ कि बाटाहरू रित्तो हुनेछन्।
23“यी सबै दण्डहरू पाइसकेपछि पनि तिमीहरूले अझै मेरा कुरा सुनेनौ र विरोध गरिरह्यौ भने 24म तिमीहरूमाथि आइलाग्नेछु र अघिको भन्दा अझ सात गुणा बढ्ता दण्ड दिनेछु। 25हाम्रा बीचको करार तोडिएको कारणले म दण्ड दिन तिमीहरूकहाँ लडाइँहरू ल्याउनेछु। तिमीहरू सुरक्षाको लागि आफ्ना सहरहरूमा जम्मा भयौ भने म तिमीहरूका बीचमा निको पार्न नसकिने रोगहरू पठाउनेछु। आफ्ना शत्रुहरूका अघि हार मान्न तिमीहरूलाई कर लाग्नेछ। 26म तिमीहरूको खाना जुट्न दिनेछैन र दश जना स्त्रीहरूसित भएका सबै खाना पकाउनलाई एउटा चुलो मात्र भए पुग्छ। तिनीहरूले खाना खटाई-खटाई बाँड्नेछन् र तिमीहरूले ती सबै खाइसकेपछि पनि अझै भोका नै रहनेछौ।
27“यी सबै भइसकेपछि पनि तिमीहरूले मेरो विरोध गरिरह्यौ र मेरा आज्ञा मान्न इन्कार गरिरह्यौ भने 28म आफ्नो रिसमा तिमीहरूमाथि आइलाग्नेछु र फेरि तिमीहरूको दण्ड अघिको भन्दा अरू सात गुणा कठोर बनाउनेछु। 29तिमीहरूको भोक यति साह्रो बढ्नेछ कि तिमीहरूले आफ्नै बाल-बालिका खानेछौ। 30डाँडामा भएका तिमीहरूका आराधना-स्थलहरू नाश पार्नेछु, धूपवेदीहरू भत्काई ढालिदिनेछु र तिमीहरूका लाश ती लडेका मूर्तिहरूमाथि फ्याँकिदिनेछु। 31विरक्त भई म तिमीहरूका सहर र आराधना-स्थलहरू ध्वंस पार्नेछु र तिमीहरूका बलिदानहरू ग्रहण गर्नेछैन। 32म तिमीहरूका देश यस्तो प्रकारले ध्वंस गर्नेछु कि त्यो देखेर देश कब्जा गरी बास गर्ने तिमीहरूका शत्रुहरू पनि औधी तर्सनेछन्। 33म तिमीहरूमाथि लडाइँहरू ल्याउनेछु र तिमीहरूलाई देशविदेशमा छरपष्ट पारी धपाइदिनेछु। तिमीहरूको देश उजाड हुनेछ र सहरहरू ध्वंस हुनेछ। 34-35तब देश उजाड हुनेछ र त्यसले विश्राम पाउनेछ। तिमीहरूचाहिँ बैरीका देशमा कैदी भइरहनेछौ। तिमीहरूले आफ्ना देशलाई नदिएको पूर्ण विश्राम धेरै वर्षसम्म देशले भोग गर्नेछ।
36“तिमीहरूमध्ये कैदी भएर जानेहरूलाई म यति भयभित तुल्याउनेछु कि पात उडेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्। लडाइँमा खेदिएका झैँ तिमीहरू भाग्नेछौ र शत्रु छेउमा नहुँदा पनि तिमीहरू भुइँमा लड्नेछौ। 37कसैले नखेदेको बेलामा पनि तिमीहरू आपसमा ठोकिएर एक अर्कोमाथि लड्नेछौ र आफ्ना शत्रुका विरुद्धमा लडाइँ गर्न सक्नेछैनौ। 38तिमीहरू परदेशमा मर्नेछौ र बैरीहरूका देशमा तिमीहरूको नाउँनिशानै मेटिनेछ। 39तिमीहरूबाट थोरै मानिस, जो बैरीका देशमा बाँकी रहनेछन्, तिनीहरू पनि आफ्ना र तिमीहरूका पुर्खाहरूका पापले गर्दा त्यसै विनाश भएर जानेछन्।
40“तर तिम्रा सन्तानले आफ्ना पाप अनि मेरो विरोधमा विद्रोह गर्ने आफ्ना पुर्खाका पाप स्वीकार गर्नेछन्। 41ती पुर्खाहरूले नै मलाई तिनीहरूका विरुद्धमा खडा हुन लाएका थिए र बैरीका देशमा तिनीहरूलाई कैदी भइरहनलाई धपाउन लाएका थिए। अन्तमा जब तिम्रा वंशहरू नम्र बन्नेछन् र आफ्ना पाप र विद्रोहका दण्ड भोगिसकेका हुन्छन्, 42#उत्पत्ति 28:13,14; उत्पत्ति 26:3,4; उत्पत्ति 17:7,8म याकूब, इसहाक र अब्राहामसित बाँधेको प्रतिज्ञा याद गर्नेछु र आफ्ना मानिसहरूलाई कनान देश दिने मेरो करार फेरि दिनेछु। 43तर पहिले देशबाट सबै मानिसहरू निकालिनुपर्छ र देशले पूर्ण विश्राम लिन सकोस् अनि मानिसहरूले मेरो नियम र आज्ञाहरू अस्वीकार गरेको पूरा सजाय भोगिसक्नुपर्छ। 44तर त्यसो भए पनि तिनीहरू बैरीकै देशमा बसेका बेलामा पनि म तिनीहरूलाई पूरै त्याग्नेछैनँ वा नाश पार्नेछैनँ किनभने त्यसो भयो भने तिनीहरूसित मैले बाँधेको कारार मेटिनेछ। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ। 45मैले आफ्ना मानिसहरूलाई मिश्रबाट निकाली ल्याएँ र अरू जातिहरूलाई आफ्ना शक्ति देखाएँ। म परमप्रभु तिनीहरूका परमेश्वर रहूँ भनी मैले त्यसो गरें। त्यस बेला मैले तिनीहरूसित बाँधेको करार म फेरि नयाँ गरी तिनीहरूसित बाँध्नेछु।”
46यी सबै परमप्रभुले मोशालाई सीनै पर्वतमा इस्राएलीहरूको निम्ति दिनुभएको नियम र आज्ञाहरू हुन्।
अहिले सेलेक्ट गरिएको:
लेवी 26: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.