इजकिएल 37
37
सुख्खा हाडले भरिएको बेसी
1परमप्रभुको हात ममाथि भएको मैले थाहा गरें र उहाँको आत्माले मलाई लगेर कुनै एक बेसीमा पुर्याउनुभयो, जहाँ सबै जमिन हाडै-हाडले भरिएको थियो। 2उहाँले मलाई बेसीका चारैपट्टि डोर्याउनुभयो। त्यहाँ मैले असाध्यै सुकेका हाडहरूको थुप्रो देखें। 3उहाँले मलाई भन्नुभयो, “ए मरणशील मानिस, के यी हाडहरू फेरि जीवित हुन सक्लान्?”
मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, त्यो त तपाईं मात्र जान्नुहुन्छ!”
4उहाँले मलाई भन्नुभयो, “यी हाडहरूलाई अगमवाणी बोल्। यी सुखा हाडहरूलाई परमप्रभुको वचन सुन्न भन्। 5तिनीहरूलाई म सार्वभौम परमप्रभुको यस्तो वचन छ भनी बताइदे– म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु। 6तिमीहरूलाई म नसा र मांस-पेशीले भर्नेछु र बाहिरबाट छालाले ढाक्नेछु। म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।”
7अनि मलाई भनेअनुसार मैले अगमवाणी बोलें। मैले बोलिरहँदा मैले खड्याङ्-खुडुङ् आवाज आएको सुनें र ती हाडहरू आपसमा जोडिन लागे। 8मैले हेर्दाहेर्दै ती हाडहरूमा नसा र मांस-पेशी भरिए र छालाले ढाकिए। तर अझै ती शरीरहरूमा सास थिएन।
9परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, बतासलाई अगमवाणी बोल्। बतास चारै दिशाबाट बहेर आओस् र यी मृत शरीरहरूमा सास भरिएर ती जीवित बनून् भन्ने सार्वभौम परमप्रभुको आज्ञा बतासलाई बताइदे।”
10 #
प्रकाश 11:11
उहाँले भनेबमोजिम नै मैले अगमवाणी गरें। ती शरीरहरूमा सास पस्यो र तिनीहरू जीवित भई उभिए। अनि तिनीहरू एउटा ठूलो सेनाको दल भए।
11परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, इस्राएलका मानिसहरू यी हाडहरूजस्ता छन्, तिनीहरू भन्छन्: ‘हामी सुकिसक्यौं, हामीलाई केही आशा छैन, हाम्रो भविष्य छैन।’ 12यसकारण मेरा प्रजा इस्राएललाई अगमवाणी गरेर भन् कि म सार्वभौम परमप्रभुले तिनीहरूका चिहानहरू खोलिदिनेछु र तिनीहरूलाई त्यहाँबाट निकालेर इस्राएल देशमा नै ल्याउनेछु। 13जब मेरा प्रजाहरू गाडिएका चिहानहरूबाट तिनीहरूलाई निकाल्नेछु, तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्नेछन्। 14मेरो सास तिनीहरूमा फुकेर जीवित बनाउनेछु र तिनीहरूलाई आफ्नै देशमा बसोबास गर्न दिनेछु। तब तिनीहरूले जान्नेछन् कि म परमप्रभु नै बोलेको छु। मैले गर्छु भनी दिएको वचन पूरा गरेको छु।”
यहूदा र इस्राएल राज्यको एकीकरण
15परमप्रभु फेरि मसित बोल्नुभयो 16र भन्नुभयो “ए मरणशील मानिस, दुईटा काठको लट्ठी लिएर एउटा ‘यहूदा राज्य’ भन्ने शब्द लेख् र अर्को लट्ठीमा ‘इस्राएल राज्य’ लेख्। 17त्यसपछि ती दुवै लट्ठी जोडेर एउटै बनाई तेरो हातले समात्। 18जब त्यसको अर्थ के हो भनी तेरा मानिसहरूले सोध्नेछन्, 19तब तिनीहरूलाई यसो भन्: म, सार्वभौम परमप्रभु ‘इस्राएल राज्य’ र ‘यहूदा राज्य’ लेखिएको दुवै लट्ठी जोडेर एउटै बनाई हातमा लिनेछु।
20“ती दुवै लट्ठी मानिसहरूले देख्नेगरी तेरो हातले समात्। 21त्यसपछि तिनीहरूलाई भन् म, सार्वभौम परमप्रभु मेरा सबै प्रजालाई, तिनीहरू गइबसेका जाति-जातिबाट निकाल्नेछु र एकसाथ भेला गरी तिनीहरूकै देशमा फर्काई ल्याउनेछु। 22देशमा इस्राएलका डाँडाहरूमा म तिनीहरूलाई एउटै जाति बनाउनेछु। तिनीहरूलाई शासन गर्ने एउटै राजा हुनेछ र तिनीहरू फेरि दुई अलग जातिमा बाँडिनेछैनन् र दुई वटा राज्य हुनेछैनन्। 23अब उप्रान्त तिनीहरूले घिनलाग्दा मूर्तिहरू पुजेर आफैंलाई बिटुलो पार्नेछैनन् वा पाप गरेर आफैं भ्रष्ट हुनेछैनन्। तिनीहरूले पाप गरेर मलाई धोका दिने सबै चालबाट म तिनीहरूलाई छुटकारा दिनेछु र म तिनीहरूलाई पवित्र गर्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु। 24#इजकिएल 34:24मेरो सेवक दाऊदजस्तो तिनीहरूको एउटा राजा हुनेछ। तिनीहरू एउटै गोठालाको अधीनमा एक हुनेछन् र विश्वासयोग्य भएर मेरा नियमहरू पालन गर्नेछन्। 25तिनीहरूका पिता-पुर्खा बस्ने देश, जुन मैले मेरो सेवक याकूबलाई दिएँ, अब तिनीहरू त्यहीं बसोबास गर्नेछन्। त्यहाँ तिनीहरूका छोरा-छोरीहरू, नाति-पनातिहरू सदासर्वदा बसोबास गरिरहनेछन् र मेरो सेवक दाऊदजस्तो राजाले सदासर्वदा तिनीहरूमाथि शासन गर्नेछ। 26म तिनीहरूसित सुख-शान्तिको करार बाँध्नेछु। यो करार सधैँभरि तिनीहरूको सुरक्षाको निम्ति हुनेछ। म तिनीहरूलाई दिगो पार्नेछु, तिनीहरूको सङ्ख्या बढाउनेछु र तिनीहरूकै माझमा मेरो मन्दिर बनाउनेछु, जो सधैँभरि रहनेछ। 27#२ कोरिन्थी 6:16; प्रकाश 21:3त्यहाँ म तिनीहरूसित बास गर्नेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। 28जब म सधैँभरिको निम्ति तिनीहरूका बीचमा मेरो मन्दिर बनाउनेछु, तब म परमप्रभुले इस्राएलीहरूलाई पवित्र गरेको छु भनी सबै जातिहरूले जान्नेछन्।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 37: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.