YouVersion लोगो
खोज आइकन

इजकिएल 36

36
1परमप्रभुले भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलका पर्वतहरूसित बोल् 2र तिनीहरूलाई म सार्वभौम परमप्रभुबाट के सन्‍देश छ, त्‍यो सुन्‍नू भन्: इस्राएलका शत्रुहरूले यसो भने, ‘आहा! ती प्राचीन डाँडाहरू हाम्रै भए!’
3“अब अगमवाणी बोल् र म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो तिनीहरूलाई सुना: जब छिमेकी जातिहरूले इस्राएलका डाँडाहरू अधीन गरेर लुटी इस्राएलको खिल्‍ली उडाएका थिए, 4पर्वतहरू र डाँडाहरू, खोला-नालाहरू र बेसीहरू, ध्‍वस्‍त पारी छोडिएका जग्‍गाहरू र चारैतिरका जातिहरूद्वारा लुटपिट भएर हाँसोको पात्र भई निर्जन भएका सहरहरूलाई अब म सार्वभौम परमप्रभु के भन्‍दछु, त्‍यो सुन।
5“म सार्वभौम परमप्रभु मेरो रिसको झोकमा वरिपरिका जातिहरू विशेषगरी एदोमको विरुद्धमा बोलेको छु। तिनीहरूले खिसी गर्दै हेलचेक्र्याइँसाथ मेरो देश कब्‍जा गरे र त्‍यसका चरनहरू हात पारे।
6“यसकारण इस्राएल देशलाई अगमवाणी सुना। डाँडाहरू, पर्वतहरू, खोला-नालाहरू र बेसीहरूलाई म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो सुना। म मेरो बल्‍दो रिसमा यी वचन भन्‍दै छु किनभने ती जातिहरूले तिनीहरूलाई बेइज्‍जत गरी होच्‍याएका छन्। 7म, सार्वभौम परमप्रभु गम्‍भीर प्रकारले यो प्रतिज्ञा गर्छु कि ती वरिपरिका जातिहरू पनि होच्‍याइनेछन्। 8तर मेरो प्रजा इस्राएल, तिम्रो निम्‍ति इस्राएलका पहाडहरूका रूखहरूले फेरि पालुवा फेर्नेछन् र फल फलाउनेछन्। तिमीहरू चाँडै घर फर्कनेछौ। 9म तिमीहरूको पक्षमा छु र तिमीहरूका जमिन फेरि खनजोत गरिनेछ र त्‍यहाँ बीउ छरिनेछ, यो कुरो म निश्‍चय गर्नेछु। 10म त्‍यहाँका मानिसहरूको सङ्‍ख्‍या बढाउनेछु। तिमीहरू सहरहरूमा बसोबास गर्नेछौ र ध्‍वस्‍त भएका सबै कुराहरू फेरि बनाउनेछौ। 11मानिसहरू र पशुहरू दुवैको सङ्‍ख्‍या बढाउनेछु। तिमीहरूको सङ्‍ख्‍या अघिको भन्दा धेरै हुनेछ। अनि धेरै छोरा-छोरीहरू जन्‍मनेछन्। पहिलेको जस्‍तै त्‍यहाँ म तिमीहरूलाई बसोबास गर्न दिनेछु र पहिलेको भन्दा धेरै फलिफाप गराउनेछु। तब परमप्रभु म नै हुँ भनी तिमीहरूले थाहा पाउनेछौ। 12हे मेरा प्रजा इस्राएल, तिमीहरूलाई फेरि म स्‍वदेश फर्काई ल्‍याउनेछु। त्‍यो तिमीहरूको निज देश हुनेछ र त्‍यहाँ तिमीहरूका सन्‍तानहरू फेरि कहिल्‍यै अनिकालमा पर्नेछैनन्।
13“म सार्वभौम परमप्रभु भन्‍दछु, मानिसहरूले भनेको यो कुरा साँचो हो कि त्‍यस देशले मानिस खान्‍छ र त्‍यहाँ बस्‍ने जातिको सन्‍तानलाई सर्वनाश पार्छ। 14तर अब उप्रान्‍त त्‍यसले मानिस खानेछैन र तेरो सन्‍तानलाई नाश गर्नेछैन। म, सार्वभौम परमप्रभु बोलेको छु। 15त्‍यस देशले फेरि आफूमाथि जाति-जातिको गिल्‍ला वा मानिसहरूको निन्‍दा सुन्‍नुपर्नेछैन। त्‍यस देशले त्‍यहाँ बस्‍ने जातिको सन्‍तानलाई कहिल्‍यै नाश गर्नेछैन। म सार्वभौम परमप्रभु बोलेको छु।”
इस्राएलको नयाँ जीवन
16परमप्रभु मसित बोल्‍नुभयो 17र भन्‍नुभयो, “ए मरणशील मानिस, जब इस्राएलीहरू आफ्‍ना देशमा बसोबास गर्दथे, तब आफ्‍ना जीवन र कामले त्‍यो देशलाई अपवित्र पारे। जसरी एउटा स्‍त्री मासिक-धर्म भएको बेला अशुद्ध हुन्‍छे, त्‍यसरी नै मैले आफ्‍नो दृष्‍टिमा त्‍यसको चालचलन, व्‍यवहार अशुद्ध ठहराएँ। 18तिनीहरूले त्‍यो देश हत्‍या र मूर्तिपूजाद्वारा बिटुलो पारेको कारणले मैले तिनीहरूलाई आफ्‍नो क्रोधको शक्ति देखाएँ। 19तिनीहरूको जीवनको यस्‍तो चाल र कामले गर्दा मैले तिनीहरूलाई दोषी ठहराएँ र देश-विदेशमा तितर-बितर पारें। 20जहाँ-जहाँ तिनीहरू गए, त्‍यहाँ-त्‍यहाँ तिनीहरूले मेरो पवित्र नामको बेइज्‍जत गरे। यसैकारण विदेशीहरूले यसो भन्‍दथे, ‘यिनीहरू परमप्रभुका मानिसहरू भएर पनि उहाँको देश छोड्‍नुपर्‍यो।’ 21त्‍यसो हुँदा मलाई मेरो पवित्र नामको वास्‍ता गर्न कर लाग्‍यो किनभने इस्राएलीहरू जहाँ-जहाँ जान्‍थे, त्‍यहीं-त्‍यहीं मेरो नामको बेइज्‍जत हुन्‍थ्‍यो।
22“अब म, सार्वभौम परमप्रभुको सन्‍देश इस्राएलीहरूलाई सुना। जहाँ-जहाँ तिमी, इस्राएलीहरू गयौ, त्‍यहाँत्‍यहाँ मेरो पवित्र नामको बेइज्‍जत गर्‍यौ। अब मैले जे गर्न लागेको छु, त्‍यो तिमीहरूको खातिर होइन तर मेरो पवित्र नामको खातिर हो। 23जुन नामलाई तिमीहरूले तिनीहरूका बीचमा बेइज्‍जत गर्‍यौ। त्‍यो उच्‍च नामको पवित्रता जाति-जातिहरूको बीचमा प्रकट गर्नेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्। म, सार्वभौम परमप्रभु बोलेको छु। म पवित्र छु भनी जाति-जातिलाई देखाउन तिमीहरूलाई प्रयोग गर्नेछु। 24म तिमीहरूलाई हरेक देश र जातिका बीचबाट तिमीहरूका आफ्‍नै देशमा फर्काई ल्‍याउनेछु। 25म तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु र तिमीहरू चोखो हुनेछौ। मूर्तिहरू र जुन कुराले तिमीहरूलाई अशुद्ध पारेका छन्, तीबाट शुद्ध पार्नेछु। 26#इजकिएल 11:19,20म तिमीहरूलाई नयाँ हृदय र नयाँ मन दिनेछु। तिमीहरूको ढुङ्गाको कठोर हृदय म हटाउनेछु र त्‍यसको सट्टामा आज्ञाकारी हृदय दिनेछु। 27तिमीहरूबाट मेरा नियमहरू र मैले दिएका आज्ञाहरूको पालन गराउन म मेरो आत्‍मा तिमीहरूमा हालिदिनेछु। 28तब मैले तिमीहरूका पिता-पुर्खालाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ। तब तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्‍वर हुनेछु। 29तिमीहरूलाई अपवित्र गर्ने सबै थोकबाट म तिमीहरूलाई जोगाउनेछु। म तिमीहरूका अन्‍नबाली प्रशस्‍त फल्‍नलाई आज्ञा गर्नेछु र तिमीहरूले फेरि अनिकालको सामना गर्नुपर्नेछैन। 30म तिमीहरूका रूखका फलहरू र खेतबारीहरूका उब्‍जनी बढाउनेछु र फेरि अनिकाल परेर तिमीहरू अरू जातिहरूका सामुन्‍ने लाजमा पर्नुपर्नेछैन। 31तिमीहरूले आफ्‍ना दुष्‍ट चाल र आफ्‍ना घिनलाग्‍दा कामहरूको याद गर्नेछौ अनि आफ्‍ना पाप र कुकर्मको कारणले आफैंलाई घृणा गर्नेछौ। 32ए इस्राएल, तैँले यो जान्‍नुपर्छ कि यी सबै कुरा मैले तेरो खातिर गरेको होइन तर तेरो कुकर्मले ल्‍याएको लज्‍जा र बेइज्‍जत तैँले थाहा गरेको म चाहन्‍छु। म, सार्वभौम परमप्रभु बोलेको छु।”
33सार्वभौम परमप्रभुले भन्‍नुभयो, “जब म तँलाई तेरा सबै पापबाट शुद्ध पार्छु, तब तँलाई फेरि तेरा सहरहरूमा बसोबास गर्न दिनेछु र भत्‍केका सबै थोक फेरि बनाउनदिनेछु। 34तेरो खेतको बाटोबाट भएर आउने-जानेहरूले ती खेतबारीहरूमा जङ्गली घाँस र झार-पातले भरिएका देख्‍थे, अब म तँलाई फेरि ती बारीहरू खनजोत गरी खेतबारी लाउन दिनेछु। 35जुन जमिन एक समय उजाड जङ्गल भएको थियो, कसरी अब अदनको बगैंचाझैँ बनेको छ; ती सहरहरू, जुन भत्‍काइएर लुटपिटमा परी ध्‍वस्‍त अवस्‍थामा त्‍यागिएका थिए, कसरी अब सुरक्षित भई मानिसहरू बसोबास गर्न लागेका छन् भनी सबैले उदेक मान्‍नेछन्। 36तब बाँकी रहेका वरपरका जातिहरूले यो जान्‍नेछन् कि म परमप्रभुले ध्‍वस्‍त भएका सहरहरू फेरि बनाउनेछु र उजाड खेतबारीमा फेरि अन्‍नबाली उमार्नेछु। म परमप्रभुले यो काम गर्नेछु भनी प्रतिज्ञा गरेको छु र म त्‍यो पूरा गर्ने नै छु।”
37सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “म फेरि एकपल्‍ट इस्राएलीहरूलाई मसित सहायता माग्‍न बिन्‍ती गर्न दिनेछु र तिनीहरूलाई भेडाका बगालझैँ बढ्‍न दिनेछु। 38जसरी अघि एकपल्‍ट यरूशलेम चाड-बाडमा बलि चढाइने पशुहरूले भरिभराउ थियो, त्‍यसरी ध्‍वस्‍त भएका सहरहरू फेरि मानिसहरूले भरिनेछन्। तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्‍नेछन्।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 36: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्