इजकिएल 38
38
परमेश्वरको हतियारको रूपमा गोग
1परमप्रभु मसित बोल्नुभयो, 2#प्रकाश 20:8“ए मरणशील मानिस, मागोग देशको मेशेक र तूबल जातिहरूमाथि शासन गर्ने मुख्य शासक गोगको विरोध गर्दै यसो भन्: 3‘म, सार्वभौम परमप्रभु त्यसको विरुद्धमा छु।’ 4म त्यसलाई फनक्क घुमाउनेछु, त्यसको बङ्गारामा अंकुशे लाउनेछु र सबै सेनासहित त्यसलाई घिस्स्याएर हिंडाउनेछु। घोडा र घोड-चढीहरूसमेत त्यसको सेना अति ठूलो छ र प्रत्येक सैनिकले ढाल भिरेर हातमा तरवार लिन्छन्। 5त्योसित फारस, कूश र पूतका मानिसहरू छन्, ती सबैका हातमा ढाल र शिरमा फलामे टोपी छन्। 6त्योसित उत्तरका गोमेर र बेथ-तोगर्मा देशका योद्धाहरू र त्यस्तै अरू धेरै जातिका मानिसहरू छन्। 7त्यसलाई आफ्नो अधीनमा रहेका फौजसहित तयार रहन भन्। 8धेरै वर्षपछि म त्यसलाई एउटा देशमाथि हमला गर्ने आज्ञा दिनेछु, जुन देशका मानिसहरू विभिन्न जातिहरूबाट फर्काई ल्याइएका थिए र लडाइँको डरबिना बाँचिरहेका थिए। त्यसले इस्राएलका डाँडाहरूमाथि हमला गर्नेछ, ती धेरै लामो समयसम्म उजाड र उराठलाग्दा थिए तर अब सबै मानिसहरू सुरक्षासाथ बसोबास गर्दछन्। 9त्यो, त्यसको सेना र त्योसित भएका सबै जातिहरूले आँधी-बेहरीझैँ आक्रमण गर्नेछन् र त्यस देशलाई बादलले झैँ ढाक्नेछन्।”
10सार्वभौम परमप्रभुले गोगलाई यसो भन्नुहुन्छ, “त्यो समय आइपुगेपछि तैँले एउटा दुष्ट युक्ति रच्न थाल्नेछस्। 11तैँले एउटा असहाय देशमाथि हमला गर्ने निर्णय गर्नेछस्, त्यहाँका मानिसहरू पर्खालबिनाका असुरक्षित सहरहरूमा शान्तिसित बसेका छन्। 12अघि एकपल्ट ध्वस्त भएका सहरहरूमा बसोबास गर्ने मानिसहरूलाई तैँले लुटपिट गर्नेछस्। ती मानिसहरू सबै जातिहरूबाट जम्मा गरिएका थिए अनि तिनीहरूसित गाई-वस्तु र धन-सम्पत्ति छन्। संसारका चारैतिरबाट आएर जमघट हुने ठाउँमा तिनीहरू बसोबास गरेका छन्। 13शेबा र ददानका मानिसहरू अनि तर्शिश देशका व्यापारीहरूले तँलाई यसरी प्रश्न गर्नेछन्, ‘आफ्ना सेना भेला गरी लुटपिट र चोरी-डकैती गर्नलाई तैँले हमला गरेको होस् त? के तँ सुन-चाँदी, गाई-वस्तु र धन-सम्पत्ति पाउने इच्छा राख्छस्? के तँ लुटेका मालसामान लिएर बाटो लाग्ने इच्छा गर्छस्’?”
14-15सार्वभौम परमप्रभुले यसरी आफ्ना यी वचन गोगलाई सुनाउन मलाई पठाउनुभयो, “अब, मेरो प्रजा इस्राएल सुरक्षासाथ बसेको समयमा धेरै जातिहरूका मानिसहरू मिलेर बनेको एउटा ठूलो र शक्तिशाली सेना लिएर तँ उत्तरको टाढा देशबाट आउनेछस्। तेरा सबै सेनाहरू घोडामा आउनेछन्। 16आँधी-बेहरी देशमा चलेझैँ तैँले मेरो प्रजा इस्राएलमाथि हमला गर्नेछस्। त्यो समयपछि म तँलाई मेरो देशमाथि हमला गर्न पठाउनेछु र म को हुँ भनी जाति-जातिलाई देखाउनेछु र तँद्वारा मैले गरेको कामबाट मेरो पवित्रता जनाउनेछु। 17सार्वभौम परमप्रभु बोल्नुभएको छ: धेरै समयअघि जब म मेरा सेवकहरू इस्राएलका अगमवक्ताहरूद्वारा कुनै एक जनालाई इस्राएलमाथि हमला गर्न लाउनेछु,” भनी घोषणा गरेको कुरा तेरै बारेमा थियो।”
गोगमाथि परमेश्वरको दण्ड
18सार्वभौम परमप्रभु भन्नुहुन्छ, “गोगले इस्राएलमाथि हमला गरेको दिन म औधी क्रोधित हुनेछु। 19प्रचण्ड क्रोधको साथ म घोषणा गर्दछु कि त्यस दिन इस्राएल देशमा एउटा ठूलो भूइँचालो जानेछ। 20पृथ्वीमा भएका साना-ठूला माछा र सबै पशु-पक्षी अनि हरेक मानिस मेरो डरले काम्नेछन्। पर्वतहरू लड्नेछन्, पहराहरू फुट्नेछन् र हरेक पर्खाल ढल्नेछ। 21म सार्वभौम परमप्रभु बोलेको छु। गोगमाथि म विपत्तिहरू पठाएर भयभीत पार्नेछु र त्यसका मानिसहरूले आपसमा तरवारले काटा-काट गर्नेछन्। 22म त्यसलाई रुढी र रक्तपातले दण्ड दिनेछु। त्यो, त्यसको सेना र त्यसको पछि लागेका जातिहरूमाथि आगो र गन्धकसँगै घनघोर वर्षा र असिना बर्सिनेछन्। 23यस प्रकारले सबै जातिहरूलाई म महान् र पवित्र छु भनी देखाउनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 38: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.