परमप्रभु मसित बोल्नुभयो र भन्नुभयो, “ए मरणशील मानिस, जब इस्राएलीहरू आफ्ना देशमा बसोबास गर्दथे, तब आफ्ना जीवन र कामले त्यो देशलाई अपवित्र पारे। जसरी एउटा स्त्री मासिक-धर्म भएको बेला अशुद्ध हुन्छे, त्यसरी नै मैले आफ्नो दृष्टिमा त्यसको चालचलन, व्यवहार अशुद्ध ठहराएँ। तिनीहरूले त्यो देश हत्या र मूर्तिपूजाद्वारा बिटुलो पारेको कारणले मैले तिनीहरूलाई आफ्नो क्रोधको शक्ति देखाएँ। तिनीहरूको जीवनको यस्तो चाल र कामले गर्दा मैले तिनीहरूलाई दोषी ठहराएँ र देश-विदेशमा तितर-बितर पारें। जहाँ-जहाँ तिनीहरू गए, त्यहाँ-त्यहाँ तिनीहरूले मेरो पवित्र नामको बेइज्जत गरे। यसैकारण विदेशीहरूले यसो भन्दथे, ‘यिनीहरू परमप्रभुका मानिसहरू भएर पनि उहाँको देश छोड्नुपर्यो।’ त्यसो हुँदा मलाई मेरो पवित्र नामको वास्ता गर्न कर लाग्यो किनभने इस्राएलीहरू जहाँ-जहाँ जान्थे, त्यहीं-त्यहीं मेरो नामको बेइज्जत हुन्थ्यो। “अब म, सार्वभौम परमप्रभुको सन्देश इस्राएलीहरूलाई सुना। जहाँ-जहाँ तिमी, इस्राएलीहरू गयौ, त्यहाँत्यहाँ मेरो पवित्र नामको बेइज्जत गर्यौ। अब मैले जे गर्न लागेको छु, त्यो तिमीहरूको खातिर होइन तर मेरो पवित्र नामको खातिर हो। जुन नामलाई तिमीहरूले तिनीहरूका बीचमा बेइज्जत गर्यौ। त्यो उच्च नामको पवित्रता जाति-जातिहरूको बीचमा प्रकट गर्नेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। म, सार्वभौम परमप्रभु बोलेको छु। म पवित्र छु भनी जाति-जातिलाई देखाउन तिमीहरूलाई प्रयोग गर्नेछु। म तिमीहरूलाई हरेक देश र जातिका बीचबाट तिमीहरूका आफ्नै देशमा फर्काई ल्याउनेछु। म तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु र तिमीहरू चोखो हुनेछौ। मूर्तिहरू र जुन कुराले तिमीहरूलाई अशुद्ध पारेका छन्, तीबाट शुद्ध पार्नेछु। म तिमीहरूलाई नयाँ हृदय र नयाँ मन दिनेछु। तिमीहरूको ढुङ्गाको कठोर हृदय म हटाउनेछु र त्यसको सट्टामा आज्ञाकारी हृदय दिनेछु। तिमीहरूबाट मेरा नियमहरू र मैले दिएका आज्ञाहरूको पालन गराउन म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु। तब मैले तिमीहरूका पिता-पुर्खालाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ। तब तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु। तिमीहरूलाई अपवित्र गर्ने सबै थोकबाट म तिमीहरूलाई जोगाउनेछु। म तिमीहरूका अन्नबाली प्रशस्त फल्नलाई आज्ञा गर्नेछु र तिमीहरूले फेरि अनिकालको सामना गर्नुपर्नेछैन। म तिमीहरूका रूखका फलहरू र खेतबारीहरूका उब्जनी बढाउनेछु र फेरि अनिकाल परेर तिमीहरू अरू जातिहरूका सामुन्ने लाजमा पर्नुपर्नेछैन। तिमीहरूले आफ्ना दुष्ट चाल र आफ्ना घिनलाग्दा कामहरूको याद गर्नेछौ अनि आफ्ना पाप र कुकर्मको कारणले आफैंलाई घृणा गर्नेछौ। ए इस्राएल, तैँले यो जान्नुपर्छ कि यी सबै कुरा मैले तेरो खातिर गरेको होइन तर तेरो कुकर्मले ल्याएको लज्जा र बेइज्जत तैँले थाहा गरेको म चाहन्छु। म, सार्वभौम परमप्रभु बोलेको छु।” सार्वभौम परमप्रभुले भन्नुभयो, “जब म तँलाई तेरा सबै पापबाट शुद्ध पार्छु, तब तँलाई फेरि तेरा सहरहरूमा बसोबास गर्न दिनेछु र भत्केका सबै थोक फेरि बनाउनदिनेछु। तेरो खेतको बाटोबाट भएर आउने-जानेहरूले ती खेतबारीहरूमा जङ्गली घाँस र झार-पातले भरिएका देख्थे, अब म तँलाई फेरि ती बारीहरू खनजोत गरी खेतबारी लाउन दिनेछु। जुन जमिन एक समय उजाड जङ्गल भएको थियो, कसरी अब अदनको बगैंचाझैँ बनेको छ; ती सहरहरू, जुन भत्काइएर लुटपिटमा परी ध्वस्त अवस्थामा त्यागिएका थिए, कसरी अब सुरक्षित भई मानिसहरू बसोबास गर्न लागेका छन् भनी सबैले उदेक मान्नेछन्। तब बाँकी रहेका वरपरका जातिहरूले यो जान्नेछन् कि म परमप्रभुले ध्वस्त भएका सहरहरू फेरि बनाउनेछु र उजाड खेतबारीमा फेरि अन्नबाली उमार्नेछु। म परमप्रभुले यो काम गर्नेछु भनी प्रतिज्ञा गरेको छु र म त्यो पूरा गर्ने नै छु।” सार्वभौम परमप्रभु भन्नुहुन्छ, “म फेरि एकपल्ट इस्राएलीहरूलाई मसित सहायता माग्न बिन्ती गर्न दिनेछु र तिनीहरूलाई भेडाका बगालझैँ बढ्न दिनेछु। जसरी अघि एकपल्ट यरूशलेम चाड-बाडमा बलि चढाइने पशुहरूले भरिभराउ थियो, त्यसरी ध्वस्त भएका सहरहरू फेरि मानिसहरूले भरिनेछन्। तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्नेछन्।”
इजकिएल 36 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 36:16-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू