YouVersion लोगो
खोज आइकन

इजकिएल 36:16-38

इजकिएल 36:16-38 NCV

याहवेहको वचन फेरि मकहाँ आयो: “हे मानिसको छोरा, जब इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै देशमा बसे, तिनीहरूले त्यसलाई आफ्ना चालहरू र कामहरूद्वारा अशुद्ध पारे। तिनीहरूका चाल मेरो दृष्‍टिमा स्त्रीको मासिक-स्रावको अशुद्धता जस्तै थियो। यसकारण मैले मेरो क्रोध तिनीहरूमाथि खन्याइदिएँ; किनकि तिनीहरूले आफ्ना देशमा रगत बगाए, र तिनीहरूले आफ्ना मूर्तिहरूद्वारा त्यो देश अशुद्ध पारे। मैले तिनीहरूलाई देशहरूको बीचमा छरपस्ट पारिदिएँ; मैले तिनीहरूका चालहरू र कामहरूअनुसार तिनीहरूको न्याय गरेँ। अनि तिनीहरू जातिहरूका बीचमा जहाँ गए तापनि तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र पारे; किनकि तिनीहरूको बारेमा यसो भनिएको थियो, ‘यिनीहरू याहवेहका मानिसहरू हुन्, तर पनि यिनीहरूले उहाँको देश छोड्नुपर्‍यो।’ मलाई मेरो पवित्र नामको वास्ता थियो, जसलाई इस्राएलका मानिसहरूले तिनीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारे। “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ। म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। “ ‘किनकि म तिमीहरूलाई जाति-जातिहरूबाट बाहिर निकाल्नेछु; म तिमीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु। तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु। म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु। अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु। तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु। म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्‍नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ। म रूखहरूका फलहरू र खेतका अन्‍नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्। तब तिमीहरूले आफ्ना दुष्‍ट चालहरू र दुष्‍ट कामहरू सम्झनेछौ; अनि तिमीहरू आफैँले आफ्ना पापहरू र घिनलाग्दा कामहरूका निम्ति आफैँलाई घृणा गर्नेछौ। मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक भन्‍ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ! “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्। बाटो हिँडनेहरूको नजरमा यो जमिन उजाड रहनुको सट्टा फेरि अन्‍न उमार्नलाई खनजोत गरिनेछ। तिनीहरूले भन्‍नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।” तब तिमीहरूका चारैतिर रहेका जातिहरूले थाहा पाउनेछन्, कि म याहवेहले नै भत्काइएका ठाउँहरूलाई पुनर्निर्माण गरेको हुँ; अनि उजाड भएको जमिनलाई फेरि उर्वर भूमिमा पुनर्स्थापित गरिदिएको हुँ। म याहवेहले बोलेको हुँ, अनि म यो गर्ने नै छु।’ “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “म फेरि एक पटक इस्राएलका मानिसहरूको बिन्ती सुन्‍नेछु, र तिनीहरूका निम्ति यो गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै संख्यामा धेरै बढाइदिनेछु; तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

इजकिएल 36 पढ्नुहोस्