फेरि परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरा, जब इस्राएलीहरू आफ्नै देशमा बसेका थिए, तब तिनीहरूले त्यस देशलाई आफ्नो व्यवहार र कामहरूले बिटुलो पारे। तिनीहरूको व्यवहार मेरो दृष्टिमा एक स्त्रीको रजस्वलाको अशुद्धताजस्तै थियो। तिनीहरूले देशमा रगत बगाएका र आफ्ना मूर्तिहरूद्वारा त्यो बिटुलो पारेका हुनाले मैले मेरो क्रोध तिनीहरूमाथि खन्याएँ। मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पारें, र तिनीहरू देश-देशमा छरपष्ट भएर छरिए। तिनीहरूका व्यवहार र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें। अनि जब तिनीहरू ती जातिहरूका बीचमा गए, तब तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे, किनकि तिनीहरूका विषयमा यसो भनिएको थियो, ‘यिनीहरू त परमप्रभुको प्रजा हो, तापनि देशलाई तिनीहरूले छोड्नुपर्यो’। मेरो पवित्र नाउँको चिन्ता मलाई लागेको थियो, जुन नाउँलाई तिनीहरू गएका जाति-जातिहरूका बीचमा इस्राएलको घरानाले अपवित्र पारे।
“यसैकारण इस्राएलका घरानालाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूकै खातिर म यी कामहरू गर्नेछैनँ, तर मेरो पवित्र नाउँको खातिर यी गर्नेछु, जुन नाउँलाई तिमीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारेका छौ। म मेरो महान् नाउँको पवित्रता देखाउनेछु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ, जुन नाउँ तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफैलाई तिमीहरूद्वारा तिनीहरूका अगि पवित्र प्रकट गर्नेछु, तब जाति-जातिहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
“‘किनकि म जाति-जातिहरूबाट तिमीहरूलाई निकाल्नेछु, र सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु, र तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा ल्याउनेछु। म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु। म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्ने तुल्याउनेछु। मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु। तिमीहरूलाई अशुद्ध पार्ने सबै कुरादेखि म तिमीहरूलाई जोगाउनेछु। म आज्ञा दिनेछु, र अन्न प्रशस्त हुनेछ, र म तिमीहरूमाथि फेरि कहिल्यै अनिकाल पठाउनेछैनँ। म रूखहरूका फललाई र खेतको अन्नलाई प्रशस्त तुल्याउनेछु, यतिसम्म कि अनिकालले गर्दा जातिहरूका बीचमा तिमीहरू फेरि कहिल्यै शर्ममा पर्नेछैनौ। तब तिमीहरूले आफ्ना दुष्ट चाल र खराब कामहरूको सम्झना गर्नेछौ, र आफ्ना पापहरू र घिनलाग्दा चालहरूको कारण तिमीहरू आफैलाई घृणा गर्नेछौ। तिमीहरूकै खातिर मैले यी काम गरिरहेको होइनँ भन्ने कुराचाहिँ तिमीहरूले बुझेको म चाहन्छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। हे इस्राएलका घराना हो, तिमीहरूका चालचलनको कारण तिमीहरू लज्जित र अपमानित होओ।
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूलाई तिमीहरूका सबै पापहरूदेखि शुद्ध पारेको दिन म तिमीहरूका सहरहरूलाई फेरि आबाद तुल्याउनेछु, र भग्नावशेष भएका ठाउँहरू पुनर्निर्माण गर्नेछु। आवतजावत गर्नेहरूको दृष्टिमा उजाड़ै रहनुको सट्टा उजाड़ भएको जमिन फेरि अन्न उमार्नलाई खनजोत गरिनेछ। मानिसहरूले भन्नेछन्, “यो जमिन जो उजाड़ थियो, अब अदनको बगैँचाजस्तै भएछ। ती उजाड़, सर्वनाश, र ध्वंस भएका सहरहरू अब किल्लाहरू र मानिसहरूले भरिएका छन्।” तब तिमीहरूका चारैतिर बाँकी रहेका जातिहरूले जान्नेछन्, कि नष्ट पारिएका सहरहरूलाई म परमप्रभुले फेरि बनाइदिएको छु, र उजाड़ भएको जमिनलाई फेरि उर्वरा भूमिमा परिवर्तित गरिदिएको छु। म परमप्रभुले भनेको हुँ, र म यो गर्ने नै छु’।
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका घरानाको बिन्ती म स्वीकार गर्नेछु, र तिनीहरूका निम्ति यो काम गरिदिनेछु: म तिनीहरूका मानिसहरूलाई भेड़ाहरूजस्तै असंख्य तुल्याइदिनेछु। म तिनीहरूलाई यरूशलेममा तोकिएका चाड़हरूमा भेटीहरू चढ़ाइने भेड़ाहरूका बगाल जत्तिकै असंख्य तुल्याउनेछु। यसरी भग्नावशेष बनेका सहरहरू मानिसहरूका भीड़ले भरिनेछन्। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”