इजकिएल 33
33
पहरेदारमा इजकिएलको नियुक्ति
(इजकिएल ३:१६-२१)
1परमप्रभु मसित बोल्नुभयो। 2उहाँले भन्नुभयो, “ए मरणशील मानिस, यदि मैले कुनै देशमा लडाइँ ल्याएँ भने के दशा हुन्छ? त्यो तेरा मानिसहरूलाई सुना। त्यस देशका मानिसहरूले आफ्नो बीचबाट एक जनालाई पहरेदार चुन्नेछन्। 3शत्रुहरू नजिक आएका देख्दा त्यस पहरेदारले सबैलाई चेतावनी दिंदै तुरही फुक्नेछ। 4त्यो सोर सुनेर कसैले ध्यानै दिएन र शत्रुहरू आएर त्यसलाई मारे भने त्यो मानिस आफ्नो मृत्युको लागि आफैं दोषी हुनेछ। 5आफ्नै दोषले त्यसको मृत्यु हुनेछ किनभने त्यसले चेतावनी दिएकोमा ध्यानै दिएन। यदि त्यसले ध्यान दिएको भए त्यो बाँच्नेथियो। 6तर यदि पहरेदारले शत्रु आएको देखेर पनि चेतावनी दिएन र शत्रु आएर कुनै एउटै मानिसलाई मार्यो भने पनि त्यो त आफ्नो पापमा मर्छ नै तर त्यसको मृत्युको निम्ति म त्यस पहरेदारलाई जिम्मेवार ठान्नेछु।
7“अब ए मरणशील मानिस, म तँलाई इस्राएल जातिको लागि पहरेदार खटाउँछु। मैले दिएका चेतावनीहरू ध्यान दिएर तैँले तिनीहरूलाई सुनाउनुपर्नेछ। 8कुनै दुष्ट मानिस मर्नेछ भनेर मैले भनें तर तैँले चाहिँ त्यसलाई आफ्नो चालचलन फेरेर ज्यान बचाउन चेतावनी दिइनस् भने त्यो दुष्ट त पापमै मर्नेछ तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु। 9तैँले दुष्टलाई चेतावनी दिइस् भने र त्यसले पाप गर्न छोडेन भने त्यो आफ्नो पापमा आफैं मर्नेछ तर तेरो ज्यानचाहिँ बाँच्नेछ।”
व्यक्तिगत जिम्मेवारी
10परमप्रभु मसित बोल्नुभयो, “ए मरणशील मानिस, इस्राएलीहरूलाई तिनीहरू आफैंले भनेको कुरा दोहोर्याएर सुनाइदे, ‘हामी हाम्रा पाप र अपराधका बोझले थिचिएका छौं र आफ्नो सामर्थ्य हराउँदै छौं। अब हामी कसरी बाँच्ने?’ 11तिनीहरूलाई यसो भन्, “म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु, म कुनै पापी मरेको देख्दा खुसी हुनेछैनँ। बरु त्यसले पाप गर्न छोडेर प्राण बचाएको हेर्न चाहन्छु। ए इस्राएल, तैँले आफ्नो दुष्ट चाल छोड्। तँ किन मर्न चाहन्छस्?
12“अब ए मरणशील मानिस, इस्राएलीहरूलाई भन् कि जब एउटा असल मानिसले पाप गर्दछ, तब त्यसले पहिले गरेको सुकर्मले त्यसलाई बचाउनेछैन। यदि कुनै दुष्ट मानिसले दुष्ट्याइँ गर्न छोड्यो भने दण्ड पाउनेछैन र कुनै असल मानिसले पाप गर्न थाल्यो भने त्यसको ज्यान बाँच्नेछैन। 13म कुनै असल मानिसलाई जीवन दिने प्रतिज्ञा गरूँला तर त्यसले आफ्नो अघिको सुकर्म भए पुग्छ भन्ने ठानेर पाप गर्न थाल्यो भने त्यसले गरेको एउटै पनि सुकर्म सम्झनेछैँन। त्यसको पापको कारणले त्यो मर्नेछ। 14मैले कुनै दुष्ट मानिसलाई तँ मर्नेछस् भनी चेतावनी दिंदा त्यसले पाप गर्न छोडेर ठीक र असल काम गर्छ भने; 15उदाहरणको लागि त्यसले बन्धकी राखेको सामान अथवा आफूले चोरेको माल फर्काइदियो र पाप त्यागेर जीवन दिने नियमहरू मान्यो भने त्यो मर्नेछैन तर त्यो निश्चय बाँच्नेछ। 16त्यसले गरेका कुनै पनि पाप म सम्झनेछैनँ किनभने त्यसले ठीक र असल काम गरेको हुनाले त्यो निश्चय बाँच्नेछ।
17“मैले गरेका काम ठीक छैन भनी तेरा मानिसहरू भन्छन् तर तिनीहरूका चाला-माला पो ठीक छैनन्। 18कुनै असल मानिसले जब भलाइ गर्न छोड्छ र खराबी गर्न थाल्छ, तब त्यो मर्नेछ। 19तर जब कुनै दुष्ट मानिसले पाप गर्न छोडेर ठीक र असल काम गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ। 20तर ए इस्राएल! मेरो काम पो ठीक छैन भनी तँ भन्छस्। म तेरो कामअनुसार न्याय गर्नेछु।”
यरूशलेम पतन भएको खबर
21 #
२ राजा 25:3-10; यर्मिया 39:2-8; 52:4-14 हामी कैदमा गएको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा यरूशलेमबाट उम्केर आएको कुनै एक जना मानिस आएर त्यो सहरको पतन भएको खबर मलाई सुनायो। 22त्यो आइपुगेको दिनको अघिल्लो साँझमा परमप्रभुको हात ममाथि परेको थियो। भोलिपल्ट बिहान त्यो मानिस आइपुग्नुअघि परमप्रभुले मलाई मेरो बोल्ने शक्ति फर्काइदिनुभयो।
मानिसहरूका पाप
23परमप्रभु मसित बोल्नुभयो। 24उहाँले भन्नुभयो, “ए मरणशील मानिस, ध्वस्त भएको इस्राएल देशमा बास गरिरहेका मानिसहरूले मलाई यसो भन्दै छन्, ‘अब्राहाम एक जना मात्र थिए तर तिनलाई सारा देश दिइएको थियो। अब हामी धेरै भएका छौं, यसर्थ यो देश हाम्रो भयो।’
25“म सार्वभौम परमप्रभुले जे भन्दै छु, त्यो तिनीहरूलाई सुनाइदे, तिमीहरूले आलै रगतसँगको मासु खान्छौ, मूर्तिहरू पुज्छौ र हत्या गर्छौ। तब कसरी यो देश हाम्रो हो भनी तिमीहरू ठान्दछौ? 26तिमीहरू आफ्ना तरवारमा भर पर्दछौ। तिमीहरूका कामहरू घिनलाग्दा छन्। सबैले व्यभिचार गर्दछन्। कसरी तिमीहरू भन्न सक्छौ कि यो देश तिमीहरूको हो?
27“तिनीहरूलाई चेतावनी दिंदै यसो भन्, म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, ती ध्वस्त भएका सहरमा बास गर्ने मानिसहरू मारिनेछन्। गाउँ-बस्तीमा बास गर्नेहरूलाई जङ्गली जनावरहरूले खानेछन्। सुरक्षित स्थान र गुफाहरूमा लुकेर बस्नेहरू रुढीले मर्नेछन्। 28म त्यस देशलाई एउटा उराठलाग्दो गरी उजाड बनाउनेछु र जुन शक्तिमा तिनीहरू घमण्ड गर्थे, त्यसको अन्त हुनेछ। इस्राएलका डाँडाहरू जङ्गल बन्नेछन् र कोही मानिस त्यसका बीचबाट भएर जान सक्नेछैन। 29म जब मानिसहरूलाई तिनीहरूका पापको निम्ति दण्ड दिनेछु र देशलाई उजाड पार्नेछु, तब तिनीहरूले परमप्रभु म नै हुँ भनेर थाहा पाउनेछन्।”
अगमवक्ताको सन्देशको नतिजा
30परमप्रभुले भन्नुभयो, “ए मरणशील मानिस, तेरा मानिसहरू आपसमा सहरका पर्खालहरूछेउ वा आफ्ना घरका ढोकाहरूमा भेट हुँदा तेरो बारेमा कुरा काट्छन्। तिनीहरू एक-अर्कासित यसो भन्छन्, ‘हामी गएर परमप्रभुबाट अब कस्तो वचन आएको छ, त्यो सुनौं।’ 31त्यसरी मेरा प्रजा तेरो कुरा सुन्न भीड त लाग्छन् तर तैँले भनेअनुसार चाहिँ गर्दैनन्। तिनीहरूले मुखले त ज्यू-ज्यू भन्छन् तर लोभी बानी छोड्दैनन्। 32तँ तिनीहरूको लागि प्रेमको गीत गाएर वा वीणा बजाएर मनोरञ्जन गराउने मानिसभन्दा अरू बढी केही छैनस्। तिनीहरूले तेरा कुरा त सुन्छन् तर एउटै पनि पालन गर्दैनन्। 33जब तेरा सबै बोलि-वचनहरू अवश्य पूरा हुनेछन्, तब तिनीहरूले एउटा अगमवक्ता तिनीहरूका बीचमा रहेछन् भनी थाहा पाउनेछन्।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 33: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.