YouVersion लोगो
खोज आइकन

इजकिएल 32

32
गोहीसित मिश्री राजाको तुलना
1हामी कैदमा लगिएको बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा परमप्रभु मसित बोल्‍नुभयो। 2उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, विलापको गीत गाउँदै मिश्रदेशको राजालाई मेरो यो सन्‍देश सुना, जातिहरूका बीचमा तँ सिंहझैँ व्‍यवहार गर्छस् तर खासमा तँ त समुद्रका बीचबाट पानी छ्याप्‍दै जाने गोहीजस्‍तो पो छस्। तैँले आफ्‍ना खुट्टाले पानी हिलो पार्छस् र नदीहरू फोहोर पार्छस्। 3धेरै जातिहरू जब भेला हुन्‍छन्, तब म तँलाई मेरो जालमा फसाउनेछु र जाल तानेर किनारमा निकाल्‍न लाउनेछु। 4तँलाई म जमिनमा पछार्नेछु र तँलाई आहारा बनाउन पृथ्‍वीका सबै चरा-चुरुङ्गीहरू र पशुहरू ल्‍याउनेछु। 5म तेरो सडेको लाशले पर्वतहरू र बेसीहरू भरिदिनेछु। 6पर्वतहरूदेखि फैलिएर खोला-नालाहरू नभरेसम्‍म म तेरो रगत बगाउनेछु। 7#यशैया 13:10; मत्ती 24:29; मर्कूस 13:24,25; लूका 21:25; प्रकाश 6:12,13; 8:12मैले तँलाई नाश गरेको दिनमा आकाश छोपिदिनेछु र ताराहरू अँध्‍यारो पारिदिनेछु। बादलले घामलाई ढाक्‍नेछ र जूनले उज्‍यालो दिनेछैन। 8म आकाशका सबै ज्‍योतिहरू निभाइदिनेछु र संसारलाई अन्‍धकारमा डुबाइदिनेछु। म सार्वभौम परमप्रभु बोलेको छु।
9“जब तँ नाश भएको समाचार तैँले नाम पनि नसुनेका देशहरूद्वारा म फैलाउनेछु, तब धेरै जातिहरू व्‍याकुल हुनेछन्। 10मैले तँसित गरेको व्‍यवहारले धेरै जातिहरूलाई आतङ्कित पार्नेछ। मैले आफ्‍नो तरवार चलाउँदा राजाहरू डरले थरथर हुनेछन्। तेरो पतन भएको दिन तिनीहरू सबै ज्‍यान जाला कि भन्‍ने डरले काम्‍नेछन्।”
11मिश्रदेशका राजालाई सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “तैँले बेबिलोन राजाको तरवारको सामना गर्नुपर्नेछ। 12निर्दयी जातिका सिपाहीहरूलाई तरवार दिएर तेरा सबै प्रजालाई मार्न लाउनेछु। तेरा सारा प्रजा र तैँले घमण्‍ड गर्ने सबै थोक नाश भएर जानेछन्। 13म तेरा गाई-वस्‍तुलाई प्रशस्‍त पानी भएको ठाउँको किनारमा नाश गर्नेछु। पानी हिलो पार्न कुनै मानिस वा जन्‍तु त्‍यहाँ रहनेछैन। 14म तेरा नदीहरूको पानी सङ्लो पार्नेछु र नदीहरू शान्‍त भई बग्‍नेछन्। म सार्वभौम परमप्रभु बोलेको छु। 15जब म मिश्रदेशलाई उराठलाग्‍दो गरी उजाड पार्नेछु र त्‍यहाँका सबै बासिन्‍दाहरूलाई मार्नेछु, तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्‍नेछन्। 16यो सन्‍देश एउटा विलापको गीत समान हुनेछ। जाति-जातिका स्‍त्रीहरूले मिश्र र त्‍यसका प्रजाको निम्‍ति शोक गर्दै यो गीत गाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।”
मृत्‍यु-लोक
17हामी कैदमा गएको बाह्रौं वर्षको पहिलो महिनाको पन्‍ध्रौं दिनमा परमप्रभुले मलाई भन्‍नुभयो, 18“ए मरणशील मानिस, मिश्रका धेरै मानिसहरूको निम्‍ति शोक गर्‌। तिनीहरूलाई पनि अरू शक्तिशाली जातिहरूका साथमा मृत्‍यु-लोकमा पठाइदे। 19तिनीहरूलाई यसो भन्:
“के तँ आफूलाई अरू सबैभन्दा
सुन्‍दर छु भन्‍ने ठान्‍दछस्?
तँ त मृत्‍यु-लोकमा जानेछस्
र त्‍यहाँ पापीहरूसित पस्रिनेछस्।
20“लडाइँमा मारिनेहरूका साथ-साथै मिश्रका बासिन्‍दाहरू पनि तरवारले मारिनेछन्। 21सबैभन्दा महान् योद्धाहरू र मिश्रपट्टि लागेर लडाइँ गर्ने मानिसहरूले मिश्रीहरूलाई मृत्‍यु-लोकमा स्‍वागत गर्नेछन्। तिनीहरू यसरी कराउनेछन्, ‘लडाइँमा मारिएका ईश्‍वर नमान्‍नेहरू यहाँ आएका छन् र लम्‍पसार परेका छन्!’
22“अश्‍शूर त्‍यहीं छ र चारैपट्टि त्‍यसका सैनिकहरूका चिहानहरू छन्। ती सबै लडाइँमा मारिएका थिए 23र मृत्‍यु-लोकको सबैभन्दा गहिरो स्‍थानमा तिनीहरूका चिहान छन्। त्‍यसका सबै सेनाहरू लडाइँमा मरे र तिनीहरूका चिहानहरू त्‍यसको चिहानको वरिपरि छन्। हुन त एक समय तिनीहरूले जिउँदाहरूलाई थर्कमान पारेका थिए।
24“एलाम त्‍यहाँ छ र चारैपट्टि त्‍यसका सेनाहरूको चिहान छन्। ती सबै लडाइँमा मारिएका थिए, बेखतने भई मृत्‍यु-लोकमा पुगे। जिउँदा छँदा तिनीहरूले आतङ्क मच्‍चाएका थिए तर अब तिनीहरू मुर्दा भई अपमानित भएका छन्। 25लडाइँमा मारिएकाहरूका बीचमा एलाम लडिरहेको छ र त्‍यसका सेनाहरूको चिहान त्‍यसको चारैपट्टि छ। तिनीहरू बेखतने भई लडाइँमा मारिएका छन्। जिउँदा छँदा तिनीहरूले आतङ्क मच्‍चाएका थिए तर अहिले तिनीहरूले लडाइँमा मारिनेहरूको दशाजस्‍तै मृत्‍यु-लोकमा बेइज्‍जत भोग्‍दछन्।
26“मेशेक र तूबल त्‍यहीं छन् र तिनीहरूका सेनाहरूका चिहानहरू चारैतिर छन्। तिनीहरू सबै बेखतने भई लडाइँमा मारिएका छन्। हुन त एक समय तिनीहरूले जिउँदाहरूलाई आतङ्कित पारेका थिए। 27प्राचीनकालका वीर योद्धाहरूलाई झैँ तिनीहरूलाई सम्‍मानसाथ गाडेनन्। ती वीरहरू त पूरा हात-हतियारका साथ शिरमुनि तरवार र मृत-शरीरमाथि ढाल राखेर गाडिन्‍थे र एक समय जिउँदाहरूलाई थर्कमान पार्ने शक्ति तिनीहरूसित थियो।
28“यस्‍तै प्रकारले मिश्रदेशको राजा पनि लडाइँमा मारिएका बेखतनेहरूका बीच चकनाचुर बनाइनेछ।
29“एदोम पनि आफ्‍ना राजाहरू र शासकहरूसहित त्‍यहीं छ। तिनीहरू शक्तिशाली सैनिकहरू थिए तर अब लडाइँमा मारिएका बेखतनेहरूका बीच मृत्‍यु-लोकमा लडिरहेका छन्।
30“उत्तरका सबै शासकहरू त्‍यहाँ छन्। सीदोनीहरू पनि त्‍यहीं छन्। एक समय तिनीहरूका शक्तिले सबैलाई थर्कमान पारेको थियो, अब त तिनीहरू लडाइँमा मारिएकाहरूसाथ अपमानित र बेखतने भई लडिरहेका छन्। मृत्‍यु-लोकमा जानेहरूसित तिनीहरूको पनि बेइज्‍जत भएको छ।
31“यी सबै लडाइँमा मारिनेहरूको दशा देख्‍दा मिश्रका राजा र सेनाले सान्‍त्‍वना पाउनेछन्।” सार्वभौम परमप्रभुले भन्‍नुहुन्छ।
32“मैले मिश्रदेशका राजाद्वारा जिउँदाहरूलाई थर्कमान पार्न लाएँ तर त्‍यो त्‍यसको सारा सेनासहित मारिनेछ र लडाइँमा मारिएका बेखतनेहरूका साथ गाडिनेछ,” सार्वभौम परमप्रभु भन्‍नुहुन्छ।

अहिले सेलेक्ट गरिएको:

इजकिएल 32: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्