YouVersion लोगो
खोज आइकन

इजकिएल 34

34
इस्राएलका गोठालाहरू
1परमप्रभु मसित बोल्‍नुभयो। 2उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलका शासकहरूका विरुद्धमा बोल्। तिनीहरूलाई अगमवाणी सुना र म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो तिनीहरूलाई भन्। ए इस्राएलका गोठालाहरू हो, तिमीहरूको विनाश हुन्‍छ, तिमीहरू आ-आफ्‍नो मात्रै वास्‍ता गर्छौ तर भेडाहरूको चाहिँ वास्‍तै गर्दैनौ। 3तिमीहरूले तिनीहरूका दूध पिउँछौ, तिनका ऊनले बनेका वस्‍त्र पहिरन्‍छौ र मोटा-मोटा भेडाहरू काटेर खान्‍छौ। तर भेडाहरूको भने कहिलै वास्‍ता नै गर्दैनौ। 4तिमीहरूले कमजोर भेडाहरूलाई बलियो बनाएका छैनौ। बिरामीहरूलाई निको पारेका छैनौ, चोट परेकाहरूलाई मलम-पट्टी लगाएका छैनौ, बाटो बिराएकाहरूलाई फर्काई ल्‍याएका छैनौ र हराएकाहरूलाई खोजेका छैनौ। बरु तिमीहरूले निर्दयी व्‍यवहार पो गरेका छौ। 5#गन्ती 27:17; १ राजा 22:17; मत्ती 9:36; मर्कूस 6:34भेडाको गोठालो नभएकोले तिनीहरू छरपष्‍ट भए र जङ्गली जनावरहरूको शिकार भए। 6यसकारण मेरा भेडाहरू अग्‍ला डाँडा र पहाडहरूहुँदो बरालिंदै हिंडे। संसारभरि तिनीहरू छरपष्‍ट भए र कसैले तिनीहरूलाई खोजेनन् वा सोधपुछ गरेनन्।
7“अब म परमप्रभुले के भन्‍दै छु, तिमी गोठालाहरूले सुन। 8म जीवित परमेश्‍वर हुँ भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु, तिमीहरूले मेरा कुरा ध्‍यान दिएर सुन। गोठालो नहुनाले मेरा भेडाहरूलाई जङ्गली जनावरहरूले हमला गरी मारेर खाए। मेरा गोठालाहरूले भेडाहरूलाई खोज्‍ने कोसिस पनि गरेनन्। तिनीहरूले भेडाहरूको वास्‍ता नगरेर आफ्‍नै मात्र वास्‍ता गर्थे। 9यसकारण ए गोठालाहरू हो, मेरो कुरा सुन। 10म सार्वभौम परमप्रभु तिमीहरूको विरुद्धमा छु। म आफ्‍ना भेडाहरूलाई तिमीहरूका हातबाट खोस्‍नेछु र फेरि म कहिल्‍यै तिमीहरूलाई गोठालाहरू हुन र आफ्‍नै मात्रै वास्‍ता गर्न दिनेछैन। म मेरा भेडाहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु र तिमीहरूको खाने शिकार हुन दिनेछैन।
असल गोठालो
11“म, सार्वभौम परमप्रभु तिमीहरूलाई भन्‍दछु कि म आफैं मेरा भेडाहरूको खोजी गर्नेछु र वास्‍ता गर्नेछु। 12जसरी गोठालोले आफ्‍ना छरपष्‍ट भएका भेडाहरूलाई एकसाथ बटुलेर जतन गर्दछ, त्‍यसरी नै म मेरा भेडाहरूको जतन गर्नेछु। तिनीहरू अन्‍धकार र विपत्तिको दिनमा छरपस्‍ट भई जुन-जुन ठाउँमा गएका थिए, म तिनीहरूलाई ती ठाउँबाट फर्काई ल्‍याउनेछु। 13म तिनीहरूलाई देश-विदेशबाट निकाली एक साथ जम्‍मा गर्नेछु र तिनीहरूको आफ्‍नै देशमा फर्काई ल्‍याउनेछु। फेरि म तिनीहरूलाई इस्राएलका डाँडा र खोलाहरूमा पुर्‍याउनेछु र हरियो-हरियो चरनमा चराउनेछु। 14म तिनीहरूलाई पहाडका चउरहरूमा र बेसीहरूमा अनि इस्राएलका सबै हरियो चरनहरूमा निर्धक्‍क चर्न दिनेछु। 15म आफैं मेरा भेडाको गोठालो हुनेछु र तिनीहरूलाई विश्राम गर्न दिनेछु। म, सार्वभौम परमप्रभु बोलेको छु।
16“हराएकाहरूलाई म खोज्‍नेछु, बाटो बिराएकाहरूलाई फर्काई ल्‍याउनेछु, चोट-पटक लागेकाहरूलाई मलम-पट्टी गर्नेछु र बिरामी भएकाहरूलाई निको पार्नेछु तर मोटाएका र बलियाहरूलाई म नाश गर्नेछु किनभने म ठीक न्‍याय गर्ने गोठालो हुँ।
17“अब ए मेरो बगाल, म सार्वभौम परमप्रभु तिमीहरूलाई भन्‍दछु कि म तिमीहरू हरेकको न्‍याय गर्नेछु अनि असललाई खराबबाट र भेडा जतिलाई बाख्राबाट अलग गर्नेछु। 18तिमीहरूमध्‍ये कतिचाहिँ हरियो-भरियो घाँस खाएर पनि सन्‍तुष्‍ट भएका छैनौ, खाएर बाँकी रहेका चरण पनि अरूले नखाओस् भनेर कुल्‍ची-मिल्‍ची गर्छौ। तिमीहरू सफा पानी पिउँछौ र पिउन नसकेको पानी फोहोर पार्छौ! 19मेरा अरू भेडाहरूले तिमीहरूका खुट्टाले कुल्‍चेका घाँस खानुपर्छ र तिमीहरूले फोहोर पारेको पानी पिउनुपर्छ।
20“यसकारण म सार्वभौम परमप्रभु तिमीहरूलाई भन्‍दछु कि तिमीहरू बलिया र दुब्‍ला भेडाहरूका बीचमा न्‍याय गर्नेछु। 21तिमीहरूले बिरामी भएकाहरूलाई एकातिर ठेल्‍यौ साथै सिङले हानेर बगालबाट धपाइदियौ। 22तर म मेरा भेडाहरूलाई बचाउनेछु र फेरि तिनीहरूमाथि अत्‍याचार हुन दिनेछैन। म मेरो हरेक भेडाको न्‍याय गर्नेछु र असललाई खराबबाट अलग गर्नेछु। 23#प्रकाश 7:17म तिनीहरूलाई मेरो सेवक दाऊदजस्‍तो राजा दिनेछु अनि त्‍यो तिनीहरूको एउटै गोठालो हुनेछ र त्‍यसले तिनीहरूको हेरचाह गर्नेछ। 24#इजकिएल 37:24म परमप्रभु तिनीहरूका परमेश्‍वर हुनेछु र मेरो सेवक दाऊदजस्‍तो राजा तिनीहरूको शासक हुनेछ। यो मैले भनेको हुँ। 25म तिनीहरूसित सुख-शान्‍ति दिने करार बाँध्‍नेछु। देशका सबै खतरनाक जनावरहरू म हटाउनेछु र त्‍यसरी मेरा भेडाहरू निर्धक्‍कसाथ मैदानमा बास गर्नेछन् र जङ्गलमा सुत्‍नेछन्।
26“म तिनीहरूलाई आशिष् दिनेछु र मेरो पवित्र डाँडाको वरिपरि बास गर्न दिनेछु र त्‍यहाँ तिनीहरूको खाँचोअनुसार वर्षा दिनेछु, यो आशिष्‌को झरी हुनेछ। 27रूखहरूले फल फलाउनेछन्, खेतबारीहरूले अन्‍न उब्‍जाउनेछन् र हरेक मानिस आफ्‍नै जमिनमा निर्धक्‍कसाथ बास गर्नेछ। मैले मेरा प्रजाका साङ्लाहरू चुँडाएर तिनीहरूलाई कमारा बनाउनेहरूका हातबाट छुटकारा दिंदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्। 28अरू जातिहरूले फेरि तिनीहरूलाई लुट्‍नेछैनन् र तिनीहरू जङ्गली जनावरको शिकार बन्‍नेछैनन्। तिनीहरू निर्धक्‍कसाथ बास गर्नेछन् अनि कसैले तिनीहरूलाई भयभीत पार्नेछैन। 29म तिनीहरूलाई मलिलो जमिन दिनेछु र देशबाट अनिकाल हटाइदिनेछु। तिनीहरूलाई फेरि अरू जातिहरूले खिसी गर्नेछैनन्। 30इस्राएल मेरो प्रजा हो र म तिनीहरूलाई रक्षा गर्दछु भनी हरेकले जान्‍नेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
31“तिमीहरू, मेरा भेडा र मैले चराएका बगाल हौ। तिमीहरू मेरा प्रजा हौ र म तिमीहरूका परमेश्‍वर हुँ,” सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

इजकिएल 34: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्