YouVersion लोगो
खोज आइकन

इजकिएल 22:1-12

इजकिएल 22:1-12 सरल नेपाली

परमप्रभु मसित बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, के हत्‍याराहरूले भरिएका यो सहरको न्‍याय गर्न तँ तयार छस्? त्‍यसले गरेका घिनलाग्‍दा कुराहरू त्‍यसलाई प्रष्‍टसँग देखाइदे। म सार्वभौम परमप्रभुले त्‍यस सहरलाई के भन्‍दै छु, त्‍यसलाई सुनाइदे। तैँले आफ्‍नै धेरै मानिसहरूको हत्‍या गरेको र मूर्तिहरूको पूजा गरी आफैंलाई अपवित्र गरेको हुनाले तेरो दिन आइपुग्‍दैछ। ती हत्‍याहरूको दोष तैंमाथि छ र आफ्‍ना हातले बनाएका मूर्तिहरूद्वारा तँ अपवित्र भएको छस्। यसैकारण तेरो समय सकियो, तेरो दिन आइपुग्‍दैछ। यसैकारण म तँलाई जाति-जातिहरूको गिल्‍लाको पात्र बनाउनेछु र सबै देशहरूले तेरो हाँसो उडाउनेछन्। नियम नमान्‍ने तेरो चालाले गर्दा नजिक र टाढाका सबै देशहरूले तेरो गिल्‍ला गर्दछन्। इस्राएलका सबै अगुवाहरूले आफ्‍नो बलमा भरोसा राख्‍दछन् र हत्‍या गर्दछन्। यो सहरमा आफ्‍ना आमा-बुबाको मान-मनितो गर्ने कोही पनि छैन। तिमीहरूले विदेशीहरूलाई अत्‍याचार गर्दछौ अनि विधवा र टुहुरा-टुहुरीबाट अनुचित फाइदा उठाउँदछौ। तिमीहरू पवित्र थोकहरू तुच्‍छ ठान्‍दछौ र पवित्र विश्रामवार पनि मान्‍दैनौ। तिमीहरूमध्‍ये कतिले अरू मानिसहरू मार्न झूटो दोष लाउँछौ। कतिले मूर्तिलाई चढाएका प्रसाद खान्‍छन् र अरू कतिले आफ्‍ना कुइच्‍छाहरू सधैँ नै पूरा गरिरहन्‍छन्। कति यस्‍ता पनि छन्, जो आफ्‍ना बुबाकी स्‍वास्‍नीसँग सुत्‍छन् र कतिले चाहिँ मासिक-धर्म हुँदैगरेकी स्‍त्रीलाई आफूसित सुत्‍न जबरजस्‍ती गर्छन्। कतिले व्‍यभिचार गर्छन् र कतिले आफ्‍नी बुहारी वा सौतेनी दिदी-बहिनीको चरित्र भ्रष्‍ट पार्छन्। तिमीहरूमध्‍ये कति जनाले घुस लिएर मानिसहरू मार्छन्, कति जना आफ्‍ना इस्राएली बन्‍धुहरूबाट ब्‍याज लिएर ऋण दिन्‍छन् र त्‍यसरी अनुचित लाभ उठाई आफैं धनी हुन्‍छन्। तिनीहरूले मलाई भुलिसकेका छन्,” सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ।

इजकिएल 22 पढ्नुहोस्