YouVersion लोगो
खोज आइकन

प्रेरित 7:44-60

प्रेरित 7:44-60 सरल नेपाली

“उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्‍वरको उपस्‍थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्‍यो पवित्र पालचाहिँ परमेश्‍वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए। परमेश्‍वरले यो देशमा बस्‍ने अरू जातिका मानिसहरूलाई खेद्‌नुभयो र यहोशूले यो देश जितेर लिंदा उनीहरूले त्‍यो पवित्र पाल यस देशमा ल्‍याए। त्‍यसपछि राजा दाऊदको पालासम्‍म त्‍यो पवित्र पाल उनीहरूसँगै रहिरह्यो। राजा दाऊद परमेश्‍वरको दयाको पात्र थिए र उनले याकूबका परमेश्‍वरलाई ‘तपाईंको वासस्‍थान बनाउन पाऊँ’ भनी बिन्‍ती गरे। उनका छोरा सोलोमनले त्‍यो मन्‍दिर बनाए। “तर महान् परमेश्‍वर त मानिसहरूले बनाएको मन्‍दिरमा बास गर्नुहुन्‍न। जसरी अगमवक्ताले पनि भनेका छन्– परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘स्‍वर्ग मेरो सिंहासन हो अनि पृथ्‍वी मेरो पाउदान हो। तब तिमीहरूले मेरो लागि कस्‍तो खालको मन्‍दिर बनाउँछौ? मेरो विश्राम गर्ने ठाउँ कहाँ छ? के यी सबै कुरा मैले नै बनाएको होइनँ र?’ “तपाईंहरूको हृदय अन्‍यजातिको जस्‍तै कठोर भएको छ र तपाईंहरू परमेश्‍वरको सन्‍देश सुन्‍न चाहनुहुन्‍न। आफ्‍ना पिता-पुर्खाले जस्‍तै तपाईंहरूले पनि पवित्र आत्‍माले देखाउनुभएको कुरालाई कहिल्‍यै पनि मान्‍नुहुन्‍न। के तपाईंहरूका पिता-पुर्खाले नसताएको कुनै अगमवक्ता होलान् र? परमेश्‍वरका पवित्र सेवक आउँदै हुनुहुन्छ भनेर खबर सुनाउने अगमवक्ताहरूलाई समेत तिनीहरूले मारे। तपाईंहरूले चाहिँ आउनुभएका पवित्र सेवकलाई नै धोखा दिएर मार्नुभयो। तपाईंहरूले स्‍वर्गदूतहरूको हातद्वारा परमेश्‍वरको व्यवस्था त पाउनुभएको थियो, तर त्‍यसलाई पालन गर्नुभएन।” स्‍तिफनसको कुरा सुनेर महासभामा बसेका मानिसहरू रिसले आगो भए र तिनीहरूले स्‍तिफनसलाई दाह्रा किट्‍न लागे। तर स्‍तिफनसले पवित्र आत्‍माबाट भरपूर भएर स्‍वर्गतिर हेरे। उनले परमेश्‍वरको शक्तिशाली महिमा देखे, येशू पनि उहाँको दाहिनेपट्टि हुनुहुन्‍थ्‍यो। त्‍यहाँ उनले परमेश्‍वर र उहाँको दाहिनेपट्टि येशूलाई ठूलो महिमामा बास गर्नुभएको देखे। उनले भने, “हेर, म स्‍वर्ग उघ्रिएको र मानव पुत्र येशूलाई परमेश्‍वरको दाहिनेपट्टि उभिरहनुभएको देख्‍तै छु।” त्‍यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्‍ना कान थुने र सबै उनीमाथि जाइलागे। तिनीहरूले स्‍तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्‍याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्‍नो कोट फुकालेर शाऊल भन्‍ने ठिटाको जिम्‍मा लगाई स्‍तिफनसलाई ढुङ्गाले हिर्काउन लागे। तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्‍तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्‍मालाई लिनुहोस्।” त्‍यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्‍नो प्राण त्‍यागे।

प्रेरित 7 पढ्नुहोस्

Video for प्रेरित 7:44-60