YouVersion लोगो
खोज आइकन

प्रेरित 7:44-60

प्रेरित 7:44-60 NNRV

“उजाड-स्‍थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्‍डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्‍वरको आदेशअनुसार यो बनिएको थियो। हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्‍यजातिहरूको देश अधिकारमा ल्‍याउँदा यहोशूको साथमा त्‍यो तम्‍बू ल्‍याए। दाऊदको पालोसम्‍मै त्‍यो त्‍यहीँ रह्यो। तिनले परमेश्‍वरको निगाह पाए, र याकूबका परमेश्‍वरको निम्‍ति एउटा वासस्‍थान बनाउने अनुमति मागे। तर उहाँको निम्‍ति भवनचाहिँ सोलोमनले बनाए। “तर हातले बनाएका भवनहरूमा परमेश्‍वर वास गर्नुहुन्‍न, जस्‍तो अगमवक्ताले भनेका छन्, ‘मेरो सिंहासन स्‍वर्ग हो, र पृथ्‍वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्‍ति कस्‍तो भवन बनाउने हो? परमप्रभु भन्‍नुहुन्‍छ, मेरो विश्रामको ठाउँ कुन हो? के यी सबै थोक मेरै हातले बनाएका होइनन्‌ र?’ “हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्‍माको विरोध गर्नुहुन्‍छ। तपाईंहरूका पुर्खाले जस्‍तो गरे तपाईंहरू पनि त्‍यस्‍तै गर्नुहुन्‍छ। अगमवक्ताहरूमध्‍ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्‌? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्‍या गरे। उहाँलाई तपाईंहरूले विश्‍वासघात गर्नुभयो, र उहाँको हत्‍या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्‍वासघातक र ज्‍यानमारा हुनुभएको छ। स्‍वर्गदूतहरूले सुम्‍पेको व्‍यवस्‍था तपाईंहरूले पाउनुभयो, तर त्‍यसको पालन गर्नुभएन।” जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्‌न लागे। तर तिनले चाहिँ पवित्र आत्‍माले भरिपूर्ण भईकन स्‍वर्गतिर एकटक लाएर हेरे, र परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरको दाहिनेपट्टि उभिरहनुभएको देखे। तिनले भने, “हेर, स्‍वर्ग उघ्रेको म देख्‍छु, र मानिसको पुत्रलाई परमेश्‍वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्‍तछु।” तर तिनीहरू उच्‍च सोरले कराई उठे, र आ-आफ्‍ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्‍टे। तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्‍ना वस्‍त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे। जसै तिनीहरूले स्‍तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्‍मालाई ग्रहण गर्नुहोस्‌।” तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्‌।” यति भनेर तिनले प्राण त्‍याग गरे।

Video for प्रेरित 7:44-60