“उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो। त्यो पाल प्राप्त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्यो। दावीदले परमेश्वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे। तर यो वासस्थानचाहिँ सोलोमनले बनाए। “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्च परमेश्वर बास गर्नुहुन्न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्: “ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्वर भन्नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ? के मेरै हातले यी सबै थोक बनाएको होइन र?’ “हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ। के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्वासघात गर्नुभयो र मार्नुभयो। स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्त गर्नुभयो। तर त्यसअनुसार तपाईंहरूले आज्ञापालन गर्नुभएन।” जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले। तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे। अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।” यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे। अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे। जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!” त्यसपछि तिनले घुँडा टेक्दै उच्च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:44-60
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू