प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?” स्तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला– हाम्रा पुर्खा अब्राहाम हारान भन्ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्ने देशमा बस्थे। त्यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्वरले दर्शन दिनुभयो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘आफ्नो देश र कुटुम्बलाई छोड् अनि मैले तँलाई देखाउने देशमा जा’। त्यसो हुँदा अब्राहाम कल्दीहरूको देशबाट निक्लेर हारानमा गए र त्यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्वरले तिनलाई तपाईंहरू अहिले बस्नुभएको यही देशमा ल्याउनुभयो। त्यस बेला परमेश्वरले अब्राहामलाई यस देशमा आफ्नो पाइलो राख्नेसम्म जमिन पनि दिनुभएन। तर परमेश्वरले ‘यो देश तँ र तेरा सन्तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्। परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो, ‘तेरा सन्तानहरू विदेशमा गएर बस्नेछन्। त्यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्म ठूलो दु:ख दिनेछन्। तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्ड दिनेछु। त्यसपछि तिनीहरू त्यस देशबाट निक्लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’। “अनि परमेश्वरले अब्राहामसँग वाचा बाँध्नुभयो र त्यस वाचाको सम्झना गराउनका लागि शरीरमा खतना गर्ने आज्ञा दिनुभयो। त्यसपछि अब्राहामका छोरा इसहाकको जन्म भयो। अब्राहामले आफ्नो छोरालाई जन्मेको आठौँ दिनमा खतना गरिदिए। इसहाकले आफ्नो छोरा याकूबलाई अनि याकूबले पनि आफ्ना बाह्रै छोराहरूलाई शरीरको खतना गरिदिए। अब यिनीहरू नै हाम्रा बाह्र कुलका पुर्खा हुन आएका हुन्। “याकूबका छोरा योसेफलाई अरू दाजुभाइहरूले डाह गर्थे। तिनीहरूले योसेफलाई मिश्रदेशका मानिसहरूका हातमा बेचिदिए र उनी कमारा भए। तर परमेश्वर योसेफसँग हुनुहुन्थ्यो। परमेश्वरले तिनलाई सबै दु:खबाट छुटाउनुभयो। जब योसेफ मिश्रका राजा फारोका अघि आए, तब परमेश्वरले उनलाई सुबुद्धि र असल विचार दिनुभयो। यो देखेर फारोले उनलाई मिश्रदेशको बडा-हाकिम बनाए। त्यस बेलादेखि दरबारमा योसेफको हुकुम चल्न लाग्यो। “त्यसपछि मिश्रदेश र हाम्रा पुर्खाहरू बस्ने कनान देशभरि अनिकाल पर्यो। त्यसले गर्दा सबै ठूलो दु:खमा परे। हाम्रा पुर्ख्यौली मानिसहरूले अन्न नै पाएनन्। मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर याकूबले आफ्ना छोराहरूलाई पहिलोपल्ट त्यस देशमा पठाए। उनीहरू दोस्रोपल्ट अन्न किन्न जाँदा योसेफले आफैंलाई आफ्नो दाजुभाइका अघि चिनाए। त्यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो। योसेफले आफ्ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्यसो हुँदा याकूब आफ्नो जम्मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए। यसरी याकूब र हाम्रा बाह्र कुलका पुर्खाहरू त्यहीँ मरे। उनीहरूका लाश लगिए र शकेम भन्ने ठाउँमा गाडिए। त्यो जग्गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए।
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू