YouVersion लोगो
खोज आइकन

प्रेरित 7:1-16

प्रेरित 7:1-16 NNRV

तब प्रधान पूजाहारीले सोधे, “के यी कुरा ठीक हुन्‌?” तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्‍नुहोस्‌। महिमाका परमेश्‍वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्‍न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो, र तिनलाई भन्‍नुभएको थियो, ‘तिमी आफ्‍नो देश र आफ्‍ना कुटुम्‍बबाट निस्‍केर, जुन देश म तिमीलाई देखाउँछु, त्‍यहाँ जाऊ।’ “तब तिनी कल्‍दीहरूको देशबाट निस्‍केर हारानमा आएर बसे, र तिनका पिताको मृत्‍यु भएपछि परमेश्‍वरले तिनलाई त्‍यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्‍छ। तिनलाई त्‍यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्‍ने ठाउँसम्‍म पनि दिनुभएन। तर तिनको सन्‍तान नभए तापनि त्‍यो जायजात परमेश्‍वरले तिनका सन्‍तान-दरसन्‍तानलाई निजी सम्‍पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो। परमेश्‍वरले यसरी भन्‍नुभयो, ‘तेरा सन्‍तान अर्काको मुलुकमा गएर बस्‍नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्‍याएर चार सय वर्षसम्‍म थिचोमिचो गरी राख्‍नेछन्‌।’ परमेश्‍वरले भन्‍नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्‍नेछन्‌ त्‍यस जातिको इन्‍साफ म गर्नेछु। त्‍यसपछि तिनीहरू निस्‍किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्‌।’ उहाँले तिनीसँग खतनाको करार बाँध्‍नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए। “कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो। परमेश्‍वरले तिनका सारा कष्‍टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्‍ने तिनलाई कृपा गर्नुभयो र बुद्धि दिनुभयो, र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरका हाकिम तुल्‍याए। “त्‍यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्‍ट भयो, र हाम्रा पुर्खाहरूले अन्‍न पाएनन्‌। तर याकूबले मिश्रदेशमा अन्‍न छ भन्‍ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्‍ट त्‍यहाँ पठाए। दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्‍नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो। योसेफले आफ्‍ना बुबा याकूबलाई र आफ्‍ना जम्‍मै कुटुम्‍बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए। याकूब मिश्रदेशमा गए, र त्‍यहीँ उनको देहान्‍त भयो, र हाम्रा पुर्खाहरूको पनि त्‍यहाँ नै देहान्‍त भयो। त्‍यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।

Video for प्रेरित 7:1-16