त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?” यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्वरले उनको सामु आएर भन्नुभयो, ‘आफ्नो देश, आफ्नो कुटुम्बलाई छोडेर म जुन देश तँलाई देखाउँछु, त्यहीँ जा।’ “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्न थाले। उनका पिताको मृत्युपछि परमेश्वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ। परमेश्वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो। परमेश्वरले उनीसँग यसरी भन्नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’ परमेश्वरले भन्नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए। जन्मेको आठौँ दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए। “योसेफलाई दाजुभाइहरूले डाह गरेर इजिप्टमा बेचिपठाए। तर परमेश्वर तिनको पक्षमा हुनुहुन्थ्यो। अनि उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्टभरिकै हाकिम बनाए। “त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्ट भयो। हाम्रा पुर्खाहरूले अन्न व्यवस्था गर्न सकेनन्। जब इजिप्टमा अन्न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए। यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए। अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो। तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू