YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 2:1-9

नहेम्‍याह 2:1-9 NNRV

एक दिन अर्तासास्‍त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्‍यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्‍यै उदास भएको थिइनँ। त्‍यसैले उहाँले मलाई सोध्‍नुभयो, “बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्‍छ? यो हृदयको शोकबाहेक अरू केही होइन।” म साह्रै डराएँ, र यसो भनेर जवाफ दिएँ, “राजा सदासर्वदै अमर रहून्‌। तर मेरा पुर्खाहरू गाड़िएको सहर उजाड़ भइरहेको छ र त्‍यसका मूल ढोकाहरू आगोले जलेका छन्‌ भने मेरो अनुहार किन उदास नदेखिने?” राजाले भन्‍नुभयो, “मबाट तिमी के चाहन्‍छौ?” मैले स्‍वर्गका परमेश्‍वरलाई प्रार्थना गरें, अनि मैले राजालाई यो जवाफ दिएँ, “हजूरलाई असल लागे, र म हजूरको निगाह-पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्‍सिओस्‌।” आफ्‍नी पत्‍नी रानी पनि साथमा बसेका राजाले मलाई सोध्‍नुभयो, “यात्रालाई कति समय लाग्‍ला, र तिमी कहिले फर्कन सक्‍छौ?” मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरें। तब मैले राजालाई यो पनि भनें, “हजूरलाई असल लागे यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालहरूलाई यहूदाको मेरो यात्रामा मेरो सुरक्षा गरिओस्‌ भनी आज्ञा-पत्र दिइबक्‍सिओस्‌। मन्‍दिरसित गाँसिएको गढ़ीका मूल ढोकाहरू, र सहरको पर्खाल र म बस्‍ने घरको निम्‍ति सत्तरीहरू बनाउन मलाई काठपात जुटाइदेऊन् भनी हजूरको राजकीय वनको रेखदेख गर्ने मानिस आसापलाई आदेश दिएर मलाई एउटा पत्र दिइबक्‍सिओस्‌।” राजाले मेरो बिन्‍ती मन्‍जूर गर्नुभयो, किनभने मेरा परमेश्‍वरको कृपालु हात ममाथि रहेको थियो। समयमा यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालहरूकहाँ म आइपुगें। उनीहरूलाई मैले राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा जानलाई घोड़चढ़ीहरू र सेनाका अधिकृतहरू दिनुभएको थियो।