उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा भन्न लाग्नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्यसको वरिपरि बार लगाए, र कोलको निम्ति एउटा खाल्डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे। फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए। तर तिनीहरूले त्यसलाई पक्रेर पिटे र रित्तै हात पठाए। फेरि तिनले तिनीहरूकहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसको टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। मालिकले अझै अर्कालाई पठाए, तर त्यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे।
“तिनको अब एक जना थियो— तिनका प्रिय पुत्र। ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्’ भनेर सबैभन्दा पछि तिनले उनैलाई तिनीहरूकहाँ पठाए।
“तर ती मोहीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौं, र हक हाम्रो नै हुनेछ।’ अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।
“तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्। के तिमीहरूले धर्मशास्त्रको यो वचन पढ़ेका छैनौ?
‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे
त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो,
यो परमप्रभुबाट भएको हो,
अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’
त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोड़ेर गइहाले।
पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्येका कोही व्यक्तिहरूलाई उहाँकहाँ पठाए। तिनीहरू आएर उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, तपाईं साँचो हुनुहुन्छ, र कसैको वास्ता गर्नुहुन्न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, कैसरलाई कर तिर्नु न्यायसङ्गत छ कि छैन? हामी कर तिरौं कि नतिरौं?”
येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्याएर देखाओ।” तिनीहरूले एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो तस्वीर र छाप कसको हो?”
तिनीहरूले उहाँलाई भने, “कैसरको।”
तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।”
तिनीहरूले उहाँसँग अचम्म माने।