YouVersion लोगो
खोज आइकन

लेवीहरू 16:11-19

लेवीहरू 16:11-19 NNRV

“हारूनले आफ्‍नो पापबलिको साँढ़े ल्‍याओस्, अनि आफ्‍नो र आफ्‍नो घरानाको निम्‍ति प्रायश्‍चित गरोस्‌। त्‍यसले आफ्‍नो पापबलिको निम्‍ति साँढ़े मारोस्‌। त्‍यसले परमप्रभुको सामुन्‍नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्‍धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्‍याओस्‌। त्‍यसले परमप्रभुको सामुन्‍नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्‍दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्‍यो मर्नेछ। त्‍यसपछि त्‍यसले साँढ़ेको रगतबाट केही लिएर आफ्‍नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्‍ने आफ्‍नो औँलाले त्‍यो रगत सात पल्‍ट छर्कोस्‌। “तब त्‍यसले मानिसहरूका निम्‍ति पापबलिको बोका मारोस्, र त्‍यसको रगत पर्दाभित्र ल्‍याएर साँढ़ेको रगतजस्‍तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्‍ने छर्कोस्‌। यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्‍मै पापको कारणले महा-पवित्रस्‍थानका निम्‍ति त्‍यसले प्रायश्‍चित गरोस्‌। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्‍ति पनि त्‍यसले त्‍यसै गरोस्‌। जब हारून प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा पस्‍छ, त्‍यसले आफ्‍नो निम्‍ति, आफ्‍नो घरानाको निम्‍ति र इस्राएलको जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्‌। “तब त्‍यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्‌। रगतबाट आफ्‍नो औँलाले सात पल्‍ट त्‍यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्‌।