YouVersion लोगो
खोज आइकन

यहोशू 9:16-27

यहोशू 9:16-27 NNRV

गिबोनीहरूसँग सम्‍झौता गरेको तीन दिनपछि नै उनीहरू त आफ्‍नै छिमेकी रहेछन्, र आफ्‍ना बीचमै रहनेहरू रहेछन्‌ भन्‍ने कुरा इस्राएलीहरूले सुने। यसकारण इस्राएलीहरू हिँड़ेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम रहेछन्‌। इस्राएलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्‍वरको शपथ खाएका थिए। सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे। तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, “हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्‍वरको शपथ खाएका छौं। यसकारण अब हामीले उनीहरूलाई छुन सक्‍दैनौं। हामीले यसै गर्नुपर्छ: हामी उनीहरूलाई जीवितै रहन दिनेछौं, नत्रता हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ।” अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्‍ति उनीहरू दाउरे र पनेरे भए। अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्‍तवमा तिमीहरू त हामीहरूमध्‍ये बस्‍नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ? यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्‍नुपर्नेछ।” उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले आफ्‍नो दास मोशालाई यो देश जम्‍मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्‍दाहरूलाई नष्‍ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्‍ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्‍नो ज्‍यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं। अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। जसो उचित र भलो लाग्‍छ, हामीसित गर्नुहोस्‌।” यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्‌। त्‍यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्‍ति र परमप्रभुले छान्‍नुभएको ठाउँमा उहाँका वेदीको निम्‍ति दाउरे र पनेरे तुल्‍याए। उनीहरू आजको दिनसम्‍म त्‍यस्‍तै छन्‌।