यहोशू 9
9
गिबोनीहरूसँग सन्धि
1जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्म महासमुद्रको#9:1 अर्थात् भूमध्यसागरको किनारमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका राजाहरूले यो सब सुने, 2तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्मा भए।
3तर गिबोनका बासिन्दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने, 4तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्ना गधामा लदाए। 5अनि पुरुषहरूले आफ्ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। 6तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
7अनि इस्राएली पुरुषहरूले ती हिव्वीहरूलाई भने, “शायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्धि गर्न सक्छौं?” #प्रस २३:३२; ३४:१२; व्य ७:२
8उनीहरूले यहोशूलाई भने, “हामी तपाईंकै दासहरू हौं।”
तर यहोशूले उनीहरूलाई सोधे, “तिमीहरू को हौ र कहाँबाट आयौ?”
9उनीहरूले तिनलाई भने, “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौं, 10यर्दन पारि एमोरीहरूका दुवै राजा, हेश्बोनका राजा सीहोनलाई र अस्तारोतवासी बाशानका राजा ओगलाई जे-जे गर्नुभयो, सो सुनेका छौं। #गन्ती २१:२१-३५ 11यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्धि गर्नुहोस्” भन’। 12तपाईंहरूकहाँ निस्केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रो खानेकुराको निम्ति यो हाम्रो रोटी तातै लिएर आएका थियौं, तर अब हेर्नुहोस्, यो सुकेर ढुसी परिसकेको छ। 13हामीले दाखमद्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्।”
14ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे। 15अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे।
16गिबोनीहरूसँग सम्झौता गरेको तीन दिनपछि नै उनीहरू त आफ्नै छिमेकी रहेछन्, र आफ्ना बीचमै रहनेहरू रहेछन् भन्ने कुरा इस्राएलीहरूले सुने। 17यसकारण इस्राएलीहरू हिँड़ेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम रहेछन्। 18इस्राएलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका थिए।
सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे। 19तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, “हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका छौं। यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौं। 20हामीले यसै गर्नुपर्छ: हामी उनीहरूलाई जीवितै रहन दिनेछौं, नत्रता हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ।” 21अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए।
22अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्तवमा तिमीहरू त हामीहरूमध्ये बस्नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ? 23यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्नुपर्नेछ।”
24उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्वरले आफ्नो दास मोशालाई यो देश जम्मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्नो ज्यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं। 25अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। जसो उचित र भलो लाग्छ, हामीसित गर्नुहोस्।”
26यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्। 27त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँका वेदीको निम्ति दाउरे र पनेरे तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्।
अहिले सेलेक्ट गरिएको:
यहोशू 9: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012