गिबोनीहरूसँग शान्ति-सन्धि गरेको तीन दिनपछि इस्राएलीहरूले यो कुरा थाहा पाए, कि तिनीहरू त उनीहरूकै नजिकमा बस्ने छिमेकीहरू पो रहेछन्। यसकारण इस्राएलीहरू प्रस्थान गरे। अनि तेस्रो दिन तिनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे। तर इस्राएलीहरूले तिनीहरूमाथि आक्रमण गरेनन्; किनकि समुदायका अगुवाहरूले तिनीहरूसँग याहवेह इस्राएलका परमेश्वरको नाममा शपथ खाएका थिए। सारा समुदाय ती अगुवाहरूसँग गनगन गरे। तर सबै अगुवाहरूले जवाफ दिए, “हामीले तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरको नाममा शपथ खाएका छौँ। अब हामीले तिनीहरूलाई छुन सक्दैनौँ। हामी तिनीहरूसँग यसो गरौँ: हामीले तिनीहरूलाई जीवितै राखौँ, ताकि हामीले तिनीहरूसँग खाएको शपथ भङ्ग गरेको कारण हामीमाथि परमेश्वरको क्रोध नपरोस्।” तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे। तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ। यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरका भवनको दाउरा काट्ने र पानी भर्ने कामबाट कहिल्यै मुक्त हुनेछैनौ।” तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ। अब हामी तपाईंहरूको हातमा छौँ। तपाईंहरूलाई जस्तो उचित र ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्।” यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्। त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्।
यहोशू 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:16-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू