YouVersion लोगो
खोज आइकन

यहोशू 9:1-15

यहोशू 9:1-15 NNRV

जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्‍म महासमुद्रको किनारमा बस्‍ने हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका राजाहरूले यो सब सुने, तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्‍मा भए। तर गिबोनका बासिन्‍दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने, तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्‌ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्‍ना गधामा लदाए। अनि पुरुषहरूले आफ्‍ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्‍धि गर्नुहोस्‌।” अनि इस्राएली पुरुषहरूले ती हिव्‍वीहरूलाई भने, “शायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्‍धि गर्न सक्‍छौं?” उनीहरूले यहोशूलाई भने, “हामी तपाईंकै दासहरू हौं।” तर यहोशूले उनीहरूलाई सोधे, “तिमीहरू को हौ र कहाँबाट आयौ?” उनीहरूले तिनलाई भने, “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्‍वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्‍त सुनेका छौं, यर्दन पारि एमोरीहरूका दुवै राजा, हेश्‍बोनका राजा सीहोनलाई र अस्‍तारोतवासी बाशानका राजा ओगलाई जे-जे गर्नुभयो, सो सुनेका छौं। यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्‍दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्‍नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्‌न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्‍धि गर्नुहोस्‌” भन’। तपाईंहरूकहाँ निस्‍केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रो खानेकुराको निम्‍ति यो हाम्रो रोटी तातै लिएर आएका थियौं, तर अब हेर्नुहोस्, यो सुकेर ढुसी परिसकेको छ। हामीले दाखमद्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्‌।” ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे। अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्‍झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे।