YouVersion लोगो
खोज आइकन

यहोशू 9:1-15

यहोशू 9:1-15 NCV

अब यर्दनको पश्‍चिमतिरका सबै राजाहरूले यी कुराहरूको बारेमा सुने। ती राजाहरू यिनै थिए: हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी, जो पहाडी मुलुकका पश्‍चिमका डाँडाहरू, फेदी र लेबनानसम्म फैलिएका महासागरका किनारामा बस्दथे। तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए। जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने, तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए। ती मानिसहरूले खुट्टामा पुराना टालेका जुत्ताहरू र फाटेका लुगाहरू लगाएका थिए। तिनीहरूका सबै भोजनहरू सुकेका र ढुसी परेका थिए। तब तिनीहरू गिलगालमा यहोशूको छाउनीमा गएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढाको देशबाट आएका हौँ; यसकारण हामीसँग सन्धि गर्नुहोस्।” इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्‍ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?” तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?” तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्‍वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ। अनि उहाँले यर्दनको पूर्वका दुई एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई के गर्नुभयो, त्यो सुनेका छौँ। अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्‍ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’ हामी तपाईंहरूलाई भेट्न निस्केको दिन हामीले पोको पारेका यी हाम्रा रोटीहरू तातो-तातै थिए। तर अब हेर्नुहोस्, यो कति सुक्खा र ढुसी परिसकेको छ। अनि हामीले यी मशकहरू दाखमद्यले भर्दा नयाँ नै थिए। तर अब हेर्नुहोस्, यी प्वाल परिसकेका छन्। अनि हाम्रा लुगाहरू र जुत्ताहरू लामो यात्राको कारणले थोत्रा भइसकेका छन्।” तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्‍लाह लिएनन्। तब यहोशूले तिनीहरूलाई जीवितै राख्ने शान्ति-सन्धि गरे। अनि सभामा अगुवाहरूले त्यसलाई शपथद्वारा सहमत गरे।

यहोशू 9 पढ्नुहोस्