YouVersion लोगो
खोज आइकन

यहोशू 9:1-15

यहोशू 9:1-15 सरल नेपाली

इस्राएलका विजयका कुरा यर्दनका पश्‍चिममा भएका सबै राजाहरू, हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसी सबैले सुने। त्‍यो कुरा डाँडामाथि, तिनका फेदीमा र भूमध्‍य सागरका किनारका मैदानमा, उत्तरपट्टि लेबनानभरि फैलियो। तिनीहरू सबै एकसाथ भएर यहोशू र इस्राएलीहरूका विरुद्धमा लड्‍नलाई आ-आफ्‍ना सेनाहरू एकै ठाउँमा भेला गरे। तर यरीहो र ऐमा यहोशूले के-के गरेका थिए, ती कुरा गिबाका बासिन्‍दा हिव्‍वीहरूले सुने र तिनलाई छल गर्ने निश्‍चय गरे। तिनीहरूले गएर केही भोजन जुटाए र आफ्‍ना गधाहरूमाथि फाटेका बोराहरू र टालेका छालाका दाखमद्य हालेका मशकहरू लादे। आफैंले थाङ्ने कपडा र फाटेका र टालेका चप्‍पलहरू लाए। तिनीहरूले लिएका भोजन सुकेर ढुसी परिसकेका थिए। त्‍यसपछि तिनीहरू गिलगालमा इस्राएलीहरूका छाउनीमा गए अनि यहोशू र इस्राएलका मानिसहरूलाई भने, “हामी टाढाबाट आएका हौं। हामीसित सन्‍धि गर्नुहोस् भन्‍ने हाम्रो बिन्‍ती छ।” तर इस्राएलका मानिसहरूले भने, “किन हामीले तिमीहरूसित सन्‍धि-पत्र गर्नू? हुन सक्‍छ, तिमीहरू नजिकै कहीँ बास गर्दछौ।” तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंहरूको सेवा गर्न हाजिर छौं।” यहोशूले प्रश्‍न गरे, “तिमीहरू को हौ? कहाँबाट आएका हौ?” तब तिनीहरूले तिनलाई भने, “हजुर, हामी धेरै टाढा देशबाट आएका हौं किनभने हामीले तपाईंहरूका परमप्रभु परमेश्‍वरको बारेमा सुनेका छौं। उहाँले मिश्रमा गरेका सबै कुरा अनि यर्दनका पूर्वपट्टि दुई जना एमोरी राजाहरू, हेश्‍बोनका राजा सीहोन र अस्‍तारोतमा बास गर्ने बाशानका राजा ओगसित के-के गरेका थिए, ती सबै हामीले सुनेका छौं। हाम्रा अगुवाहरू र हाम्रा सारा देशबासीले हामीलाई केही भोजन यात्राको लागि तयार गरेर, यहाँ आई तपाईंहरूसित भेट गर्न पठाएका हुन्। तपाईंहरूका सेवा गर्न र हामीसित एउटा सन्‍धि-पत्र गर्न तपाईंहरूसँग बिन्‍ती गर्न पठाएका छन्। हामीले ल्‍याएका रोटी हेर्नुहोस्। हामी घर छोडी तपाईंलाई भेट्‍न आउँदा त्‍यो तातै थियो; तर हेर्नुहोस्, सुकेर अहिले ढुसी परिसकेको छ। यी दाखमद्यका मशकहरू भर्दा ती नयाँ नै थिए तर हेर्नुहोस्, ती फाटिसकेका छन्। लामो यात्राले गर्दा हाम्रा कपडा र चप्‍पलहरू फाटिसकेका छन्।” इस्राएलका मानिसहरूले तिनीहरूदेखि केही भोजन ग्रहण गरे। त्‍यसबारे परमप्रभुबाट सल्‍लाह लिएनन्। यहोशूले गिबोनका बासिन्‍दाहरूसित मित्रताको सन्‍धि-पत्र बनाए र तिनीहरूलाई बास गर्न दिए। इस्राएलका अगुवाहरूले सन्‍धि पालन गर्नेछौं भनी आफ्‍ना गम्‍भीर प्रतिज्ञा गरे।

यहोशू 9 पढ्नुहोस्