“परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप! आफ्नो तरवारलाई रक्तपात गर्नदेखि रोक्नेलाई सराप!
“मोआब युवावस्थादेखि नै आराम गरी बसेको छ। त्यो थिग्रो रहेको दाखमद्यजस्तै छ, जो एउटा भाँड़ाबाट अर्को भाँड़ामा खन्याइएको छैन— त्यो निर्वासनमा गएको छैन। यसैले त्यसको स्वाद अघिजस्तै रहिरहेको छ। त्यसको बास्ना बद्लेको छैन। तर दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब घैँटाबाट खन्याउनेहरूलाई म त्यसकहाँ पठाउनेछु, र उनीहरूले त्यो खन्याउनेछन्। त्यसका घैँटाहरू रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्। जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएल लाजमा पारियो, त्यसरी नै मोआब पनि कमोशदेखि लाजमा पारिनेछ।
“‘हामीहरू वीर र शक्तिशाली युद्ध गर्नेहरू हौं’ भनेर तिमीहरू कसरी भन्छौ? मोआब नष्ट पारिनेछ, र त्यसका नगरहरू आक्रमण गरिनेछन्। त्यसका जवानहरूमा सबैभन्दा खाइलाग्दाहरू मारिनलाई जानेछन्,” महाराजा भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। “मोआबको पतन नजिकै आएको छ, त्यसको सङ्कष्ट एकदमै चाँड़ो आउनेछ। त्यसका चारैतिर बस्नेहरू र त्यसका ख्याति जान्ने सबै त्यसको निम्ति शोक गर, र भन, ‘त्यो शक्तिशाली राजदण्ड भाँचिएको हो! त्यो गौरवको लट्ठी भाँचिएको हो!’
“हे दीबोनकी छोरीका बासिन्दा हो, आफ्नो गौरवपूर्ण स्थानबाट ओर्लेर खहरिएको सुक्खा जमिनमा बस्, किनकि मोआबलाई नाश गर्ने तेरो विरुद्धमा आउनेछ। त्यसले तेरा किल्ला भएका सहरहरूलाई सर्वनाश गर्नेछ। हे अरोएरमा बस्नेहरू, बाटोमा खड़ा भएर हेर। भाग्ने पुरुष र उम्कने स्त्रीलाई सोध, ‘के भयो?’ भनी तिनीहरूलाई सोध। मोआब अपमानित भएको छ, किनकि त्यो चूरचूर पारिएको छ। विलाप गर, रोओ! मोआब नष्ट पारियो भनी अर्नोनको किनारमा गएर भन। टारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसाह र मेपातमाथि, दीबोन, नेबो र बेथ-दिब्लातैममाथि, किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि, किर्योत, बोज्रा र मोआबका नजिक र टाढ़ाका जम्मै सहरहरूमाथि त्यो आएको छ। मोआबको सीङ काटियो, र त्यसको पाखुरा भाँचियो,” परमप्रभु भन्नुहुन्छ।
“त्यसलाई मत्त्याओ, किनकि त्यसले परमप्रभुको विरोध गरेको छ। मोआब आफ्नै बान्तामा लड़ीबड़ी खेलोस्, र त्यो ठट्टाको पात्र होस्। के इस्राएल तेरो निम्ति ठट्टाको पात्र भएको थिएन? के त्यो चोरहरूका बीचमा पक्राउ परेको थियो र जब तैंले त्यसको कुरा गर्छस् तब तैंले आफ्नो शिर हल्लाई-हल्लाईकन त्यसको ठट्टा गर्छस्? हे मोआबमा बस्नेहरू हो, तिमीहरूका नगरहरू छोड़ र चट्टानहरूमा बस। गुफाका मुखको छेउमा गुँड़ लाउने ढुकुरजस्ता होओ।
“मोआबको घमण्डको बारेमा हामीले सुनेका छौं— त्यसको नचाहिँदो घमण्ड र चढ़ेको शेखी, र त्यसको घमण्डका कुरा अनि त्यसको हृदयको अहङ्कारको बारेमा हामीले सुनेका छौं!