YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 5:1-9

न्यायकर्ताहरू 5:1-9 NNRV

त्‍यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए: “जब इस्राएलका अगुवाहरू नेतृत्‍व गर्छन्, जब मानिसहरू राजीखुशीले आफूलाई समर्पण गर्छन्‌— परमप्रभुको प्रशंसा गर। “हे राजा हो, सुन। हे शासक हो, कान थाप। म गाउनेछु, म परमप्रभुको स्‍तुति गर्नेछु, म परमप्रभु, इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा भजन गाउनेछु। “हे परमप्रभु, जब तपाईं सेइरबाट अगि बढ्‌नुभयो, जब तपाईं एदोमको देशबाट बढ्‌दैजानुभयो, तब पृथ्‍वी काम्‍यो, आकाशले खन्‍यायो, बादलले झरी बर्सायो। परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्‍वरको सामु पहाड़हरू डरले थरथराए। “अनातका छोरा शमगरको पालोमा, याएलको पालोमा यात्रीहरू मूलबाटाहरूमा हिँड़ेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्‌न लागे। इस्राएलका गाउँले जीवन समाप्‍त भयो, जबसम्‍म म, दबोरा, खड़ा भइनँ। इस्राएलमा एउटी आमाझैँ म खड़ा भएँ। जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्‍यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए। मेरो हृदय इस्राएलका अगुवाहरूसित छ, मानिसहरूमध्‍येका इच्‍छुक स्‍वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर।