प्रकाश 18:2-17
प्रकाश 18:2-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ। किनकि सबै राष्ट्रहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्; अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।” तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्; किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्; अनि परमेश्वरले त्यसका अपराधहरू सम्झनुभएको छ। त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ; त्यसले जे गरेकी छ, त्यो दोबर गरी त्यसलाई देओ। त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोबर हुने गरी त्यसलाई देओ। त्यो आफूले जति महिमा र भोग-विलास लुटी, त्यत्तिकै यातना र सन्ताप त्यसलाई देओ। आफ्नो हृदयमा त्यसले यसरी घमण्ड गर्छे, ‘म रानीझैँ बसेकी छु; म विधवा होइनँ, र म कहिल्यै शोक गर्नेछैनँ।’ यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्: मृत्यु, शोक र अनिकाल। त्यो आगोद्वारा भस्म पारिनेछ; किनकि त्यसलाई न्याय गर्ने परमप्रभु परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ। “जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्। त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, हे शक्तिशाली सहर बेबिलोन! एकै घण्टामा नै तेरो विनाश आयो!’ “पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्नेछैन। सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो रातो रङ्गका कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तीदन्तका सामग्रीहरू, बहुमूल्य काठ, काँसा, फलाम र संगमरमरका सामग्रीहरू, दालचिनी र मसला, सुगन्धित धूप, मूर्र, लोबान र मद्य र जैतुनको तेल, मसिनो पिठो, गहुँ, गाईबस्तु र भेडाहरू, घोडाहरू, रथहरू, मानव शरीर र मानिसका जीवनहरू। “तिनीहरूले भन्नेछन्, ‘तिमीहरूले चाहेका फलहरू तिमीहरूदेखि गएका छन्। तिम्रा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’ यी चीजहरू बेचेर त्यसबाट धनसम्पत्ति कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै, र चिच्याउँदै यसो भन्नेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसले मसिनो मलमलको कपडा, बैजनी र चहकिलो रातो रङ्गको वस्त्र लगाएर सुनको चमक, बहुमूल्य पत्थर र मोतीहरू पहिरेकी थिई! एकै घण्टामा यति धेरै सम्पत्ति नष्ट भए!’ “जहाजको हरेक सेनापति, र जहाजबाट यात्रा गर्ने सबै यात्रीहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू टाढा उभिनेछन्।
प्रकाश 18:2-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ। किनकि सबै जातिहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन्।” तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ, किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ। त्यसले जे गरेकी थिई त्यही त्यसलाई देओ, त्यसले गरेका कामको दोबर त्यसलाई फर्काइदेओ त्यसले प्यालामा जे भरेकी थिई, त्यसको दोबर कड़ा हुने गरी त्यसलाई देओ। त्यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन।’ ‘यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्— मृत्यु, शोक र अनिकाल। आगोले त्यो भस्म पारिनेछे, किनकि त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ।” त्यससँग व्यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्वीका राजाहरू त्यो जलेको धूवाँ देखेर त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्। त्यसको यातनाको डरले टाढ़ै उभिएर तिनीहरूले यसो भन्नेछन्, “हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन! एकै छिनमा नै तेरो दण्ड तँमाथि पर्यो।” पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्यापारका मालसामान फेरि कहिल्यै किन्दैनन्, अर्थात् सुन, चाँदी, रत्न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हस्ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू, र दालचिनी, मसला, सुगन्धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात् मानिसहरूका आत्मा। तिनीहरूले भन्नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्वादिष्ठ भोजनहरू र समस्त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्यै प्राप्त हुनेछैनन्।” यी सामानका व्यापारीहरू जसले त्यस नगरीमा व्यापार गरेर धन कमाएका थिए, त्यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्दै तिनीहरू ठूलो सोरले रुनेछन् र विलाप गर्नेछन्, “हाय! हाय! त्यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्त्र लगाएर सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई। किनभने एकै घड़ीमा यति धेरै धन नष्ट भएको छ।” हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढ़ै उभिए
प्रकाश 18:2-17 पवित्र बाइबल (NERV)
त्यो स्वर्गदूत जोडले करायो, “उसको संहार भयो! बेबिलोन महानगर संहार भयो! ऊ अशुद्ध आत्माको बासस्थान बनियो। ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो। ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो। पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।” त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने, “मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क, जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्। त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ। त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन। उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरूलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार। त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई। उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ। ऊ आफैंले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ, म विधवा होइन, मैले कहिल्यै दु:ख अनुभव गरिनँ।’ यसर्थ यी कष्टहरू उमाथि आउनेछन्, मृत्यु, शोक, अनि अनिकाल, किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।” “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्। ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्, ‘हे! शक्तिशाली नगर बेबिलोन! दु:खै-दु:ख होस्! तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’ “पृथ्वीका व्यापरीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन। तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्। ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा़, घोडा, रथ, कमारा अनि कमारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्, ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमीलाई त्यागे, तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए। तिमीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’ “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्। तिनीहरूले भन्नेछन्: ‘कष्ट! कष्ट महानगरलाई, ऊ मिहीन मलमल, बैजनी, अनि रातो बस्त्रको पहिरनमा थिई। ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई! यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’
प्रकाश 18:2-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनले जोडले यसो भनेर कराए, “ध्वंश भयो! त्यो ठूलो बेबिलोन ध्वंश भयो! अब शैतानका भूतहरू र अशुद्ध आत्माहरू र अनेक घिनलाग्दा र फोहोरी पक्षी त्यहाँ बस्छन् किनभने सबै जातिहरू त्यसको व्यभिचारले जाँड पिएर मातेझैँ मातेका छन्। संसारका राजाहरूले त्योसित गएर व्यभिचार गरे र त्यसको नमेटिने अभिलाषा तृष्णाले संसारका व्यापारीहरू औधी धनी भए।” यसपछि आकाशबाट यसो भन्ने अर्को एउटा सोर मैले सुनें, “हे मेरा मानिसहरू हो! त्यसदेखि अलग होओ। त्यसको पापमा सहभागी नहोओ। त्यसको सजाय तिमीहरूमाथि नपरोस् किनभने त्यसका पापको थाक आकाशसम्म पुगेको छ र परमेश्वरले त्यसका सबै दुष्ट कामलाई याद गर्नुभएको छ। तिमीहरूलाई त्यसले जे-जस्तो गरेकी छे, त्यसलाई त्यस्तै गर। तिमीहरूलाई त्यसले जेजति गरेकी छे, त्यसलाई त्यसको दुई गुणा बढी फर्काइदेओ। तिमीहरूका लागि त्यसले तयार गरेकी मद्यभन्दा दुई गुणा कडा मद्य त्यसको कचौरामा भरिदेओ। त्यसले जति मान-सम्मानता, ऐश-आराम गरेकी थिई, त्यत्ति नै कष्ट र शोक त्यसलाई देओ किनभने त्यसले मनमनै भन्छे, ‘म त महारानी भएर यहाँ बस्छु। म विधवा होइनँ। मलाई शोकपर्नेछैन।’ यसैले एकै दिनमा त्यसमाथि विपत्ति, शोक, रोग, अनिकाल आइपर्नेछ र त्यसलाई आगोले डढाउनेछ किनभने त्यसलाई न्याय गर्ने परमेश्वर शक्तिशाली हुनुहुन्छ।” त्यो सहरलाई डढाउने आगोको धुवाँ देख्दा त्योसँग व्यभिचार गर्ने संसारका राजाहरूले त्यसको निम्ति विलाप गर्नेछन्। तिनीहरूलाई त्यसको सजाय नलागोस् भनेर तिनीहरूले टाढै उभिएर यसो भन्नेछन्, “बेबिलोनमा के यस्तो आपत् आइलाग्यो। एकै घण्टामा तैँले सजाय पाइस्।” संसारका व्यापारीहरूले पनि त्यसको लागि विलाप गर्छन् किनभने सबैले तिनीहरूको सामान किन्नै छोड्छन्। कसैले पनि तिनीहरूका सुन, चाँदी, रत्न, मोती, असल सुती कपडाका वस्तुहरू, बैजनी कपडा, रेशम, सिँदुरे रङ्गका कपडा, अनेक थरीका बिरलै पाइने काठ अनि सबै थरीका हात्तीका दाँतबाट बनेका वस्तुहरू, दामी काठ, काँसाका वस्तुहरू, फलाम र सिङ्गमरमर किन्नेछैनन्। दालचिनी, सबै किसिमका मसला, बास्ना भएका धूपहरू, मूर्र र सेतो-धूप, मद्य र तेल, मैदा र गहुँ, गाईवस्तु, भेडाहरू, घोडा र घोडा-गाडीहरू, कमारा र मानिसहरूसमेत पनि किन्नेछैनन्। व्यापारीहरूले त्यसलाई भन्नेछन्, “तिमीले इच्छा गरेका असल कुराहरू हरायौ। तिम्रो धन-सम्पत्ति र मान-मर्यादा सबै नाश भइसके अनि ती सबै कहिल्यै पाउनेछैनौ!” त्यस सहरमा व्यापार गरी धनी भएका व्यापारीहरू टाढै खडा हुनेछन्, कारण तिनीहरू त्यसको डरलाग्दो विपत्तिदेखि डराउँछन्। तिनीहरूले विलाप गर्दै यसो भनेर कराउनेछन्, “यो सहरको निम्ति कस्तो डरलाग्दो समय आयो!” यसले असल सुती कपडा, बैजनी र सिँन्दुरे रङ्गका वस्त्रहरू लगाउँथी अनि सुन, बहुमूल्य रत्न र मोतीको गहना लाउँथी। एकै घण्टामा त्यसले सबै गुमाई।” जहाजका कप्तानहरू, यात्रीहरू, नावीकहरू र समुद्रमा काम गरी पेट पाल्नेहरू सबैले टाढै उभिएर