भजनसंग्रह 119:49-72
भजनसंग्रह 119:49-72 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो दासलाई दिनुभएको वचन सम्झना राख्नुहोस्, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ। मेरो सङ्कष्टमा मेरो सान्त्वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्तछ। अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्, तर तपाईंको व्यवस्थाबाट म हटेको छैनँ। तपाईंका पुराना नियमहरू म स्मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्त्वना पाउँछु। तपाईंको व्यवस्था त्याग्ने दुष्टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ। म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्तु भएका छन्। हे परमप्रभु, म राती तपाईंका नाउँको स्मरण गर्दछु, अनि तपाईंको व्यवस्था म पालन गर्नेछु। यो मेरो चलन हुन गएको छ, म तपाईंका आदेशहरू पालन गर्छु। तपाईं मेरो भाग हुनुहुन्छ, हे परमप्रभु, तपाईंका वचनहरू पालन गर्ने, मैले प्रतिज्ञा गरेको छु। मैले सम्पूर्ण हृदयले तपाईंका मुहारको खोजी गरेको छु, तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रह गर्नुहोस्। मैले आफ्नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्ना कदम चालेको छु। म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु। दुष्टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्यवस्थालाई बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका खातिर मध्यरातमा तपाईंमा धन्यवाद चढ़ाउन उठ्छु। तपाईंको भय मान्नेहरू र तपाईंका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ। हे परमप्रभु, तपाईंको प्रेमले पृथ्वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्। हे परमप्रभु, तपाईंले आफ्नो वचनअनुसार आफ्नो दासको उपकार गर्नुहोस्। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्, किनकि म तपाईंका आज्ञामाथि विश्वास राख्तछु। म कष्टित हुनुभन्दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्छ अनि भलाइ गर्नुहुन्छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्। अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर म तपाईंको व्यवस्थामा हर्षित हुन्छु। ममाथि क्लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्न सकूँ। तपाईंको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति सुन र चाँदीका हजारौँ टुक्राभन्दा मूल्यवान् छ।
भजनसंग्रह 119:49-72 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्; किनकि तपाईंले मलाई आशा दिनुभएको छ। मेरो कष्टमा मेरो सान्त्वना यही छ: तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ। अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ। हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु। तपाईंको व्यवस्था त्याग्ने दुष्टहरूले गर्दा, मलाई असाध्यै रिस उठेको छ। म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्। हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु, ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ। तपाईंका विधिहरू पालन गर्नु नै मेरो आचरण हुन गएको छ। हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले प्रतिज्ञा गरेको छु। मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु; तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रही बन्नुहोस्! मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु। तपाईंका आज्ञाहरू पालन गर्न म हतारिनेछु, र ढिलो गर्नेछैनँ। दुष्टहरूले मलाई डोरीहरूले बाँधे तापनि म तपाईंका व्यवस्था बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंलाई धन्यवाद चढाउन म मध्यरातमा उठ्दछु। म तपाईंको भय मान्नेहरू र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ। हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार आफ्नो सेवकको भलाइ गर्नुहोस्। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्वास गर्दछु। दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि मेरो सारा हृदयले तपाईंका विधिहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्न हुन्छु। दुःख भोग्नु मेरा लागि असलै भयो, ताकि यसरी नै मैले तपाईंका उर्दीहरू सिक्न सकूँ। तपाईंको मुखबाट निस्केका व्यवस्था, मेरा निम्ति हजारौँ चाँदी र सुनका टुक्राहरूभन्दा ज्यादा मूल्यवान् छन्।
भजनसंग्रह 119:49-72 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्। त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ। म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो। तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो। ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुशरण गर्न छोडिनँ। हे परमप्रभु, म सधैँ तपाईंको बुद्धिमानी निर्णयहरूले मलाई सान्त्वना दिंदछ। जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू मान्न छाड्दै गएको देखें र म क्रोधित भएँ। मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्। हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु। अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु। किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु। हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ। हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु मप्रति सधैँ तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्। मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचें। अनि म तपाईंको करार प्रति फर्किएर आएँ। कुनै विलम्ब नगरीकन हतारिन्दै म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें। केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे। तर परमप्रभु, मैले तपाईंको उपदेशहरू भुलिनँ। तपाईंको धार्मिक निर्णयहरूको निम्ति धन्यवाद दिन म रातमा उठें। ज-जसले तपाईंलाई पूज्दछन् म ती सबै मानिसहरूको साथी हुँ। ज-जसले तपाईंको आदेशहरू मान्दछन, म ती सबै मानिसहरूको साथी हुँ। हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ। मलाई तपाईंको नियमहरू सिकाउनुहोस्। परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो। तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो। हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्। म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु। म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु। परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ। मलाई तपाईंको नियमहरू सिकाउनु होस्। मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्। तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु। ती मानिसहरू अत्यन्त मूर्ख छन्। तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु। मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें। हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरू भन्दा उत्तम छन्।
भजनसंग्रह 119:49-72 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तपाईंको दाससँग गर्नुभएको प्रतिज्ञा याद गर्नुहोस्, त्यसले मलाई आशा दिएको छ। मेरो कष्टको बेलामा पनि मैले सान्त्वना पाएँ किनभने तपाईंको प्रतिज्ञाले मलाई जीवन दियो। घमण्डीहरूले मलाई सधैँ घृणा गर्छन्, तर म तपाईंको व्यवस्था छोड्नेछैनँ। धेरैअघिका तपाईंका न्यायहरू म सम्झँन्छु, हे परमप्रभु, तिनले मलाई सान्त्वना दिन्छन्। दुष्टहरूले तपाईंका व्यवस्था तोडेका देख्दा मलाई साह्रै रिस उठ्दछ। पृथ्वीको मेरो छोटो जीवनमा म तपाईंका आज्ञाहरूबारे भजन रच्दछु। परमप्रभु, राती म तपाईंलाई याद गर्दछु र तपाईंको व्यवस्थाबारे सोच्दछु। तपाईंका आज्ञापालन गर्दा म प्रसन्न हुन्छु। हे परमप्रभु! म तपाईंलाई मात्र चाहन्छु, म तपाईंका व्यवस्थाहरू मान्ने प्रतिज्ञा गर्दछु। म तपाईंलाई आफ्नो पूरा हृदयले बिन्ती गर्दछु, तपाईंले दिनुभएको प्रतिज्ञाअनुसार ममाथि कृपा गर्नुहोस्। मैले आफ्नो चालचलनमाथि विचार गरेको छु र म तपाईंका अर्तीहरू मान्ने प्रतिज्ञा गर्दछु। ढिलो नगरी म तपाईंका आज्ञाहरू मान्न हतार गर्दछु। दुष्टहरूले मलाई पासो थापेका छन्, तर म तपाईंको व्यवस्था भुल्दिनँ। तपाईंका धार्मिक न्यायहरूको लागि तपाईंको प्रशंसा गर्न म आधा रातमा जागी उठ्दछु। म तपाईंको सेवा गर्नेहरू र तपाईंका व्यवस्था मान्नेहरू, सबैको मित्र हुँ। परमप्रभु, पृथ्वी तपाईंको अनन्त प्रेमले भरिएको छ, मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। परमप्रभु, तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ र आफ्नो दासलाई उपकार गर्नुभएको छ। मलाई ज्ञान र बुद्धि दिनुहोस् किनभने म तपाईंका आज्ञाहरूमा भरोसा राख्छु। तपाईंले मलाई दण्ड दिनुअघि मैले गल्ती गर्दथें, तर अब म तपाईंको वचन मान्दछु। तपाईं कति भलो र दयालु हुनुहुन्छ! मलाई आफ्ना आज्ञाहरू सिकाउनुहोस्! घमण्डी मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनेका छन्, तर म आफ्नो पूरा हृदयले तपाईंका अर्तीहरू मान्दछु। यी मानिसहरूको केही समझशक्ति छैन, तर म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु। मैले पाएको दण्ड मेरो लागि राम्रै थियो किनभने त्यसले मलाई तपाईंका आज्ञाहरू सिक्न कर लायो। तपाईंले दिनुभएको व्यवस्था पृथ्वीका सारा धनभन्दा मेरो लागि ठूलो छ।