तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्; किनकि तपाईंले मलाई आशा दिनुभएको छ। मेरो कष्टमा मेरो सान्त्वना यही छ: तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ। अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ। हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु। तपाईंको व्यवस्था त्याग्ने दुष्टहरूले गर्दा, मलाई असाध्यै रिस उठेको छ। म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्। हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु, ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ। तपाईंका विधिहरू पालन गर्नु नै मेरो आचरण हुन गएको छ। हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले प्रतिज्ञा गरेको छु। मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु; तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रही बन्नुहोस्! मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु। तपाईंका आज्ञाहरू पालन गर्न म हतारिनेछु, र ढिलो गर्नेछैनँ। दुष्टहरूले मलाई डोरीहरूले बाँधे तापनि म तपाईंका व्यवस्था बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंलाई धन्यवाद चढाउन म मध्यरातमा उठ्दछु। म तपाईंको भय मान्नेहरू र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ। हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार आफ्नो सेवकको भलाइ गर्नुहोस्। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्वास गर्दछु। दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि मेरो सारा हृदयले तपाईंका विधिहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्न हुन्छु। दुःख भोग्नु मेरा लागि असलै भयो, ताकि यसरी नै मैले तपाईंका उर्दीहरू सिक्न सकूँ। तपाईंको मुखबाट निस्केका व्यवस्था, मेरा निम्ति हजारौँ चाँदी र सुनका टुक्राहरूभन्दा ज्यादा मूल्यवान् छन्।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:49-72
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू