YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:49-72

भजनसंग्रह 119:49-72 NNRV

आफ्‍नो दासलाई दिनुभएको वचन सम्‍झना राख्‍नुहोस्‌, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ। मेरो सङ्कष्‍टमा मेरो सान्‍त्‍वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्‍तछ। अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्‌, तर तपाईंको व्‍यवस्‍थाबाट म हटेको छैनँ। तपाईंका पुराना नियमहरू म स्‍मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्‍त्‍वना पाउँछु। तपाईंको व्‍यवस्‍था त्‍याग्‍ने दुष्‍टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ। म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्‍तु भएका छन्‌। हे परमप्रभु, म राती तपाईंका नाउँको स्‍मरण गर्दछु, अनि तपाईंको व्‍यवस्‍था म पालन गर्नेछु। यो मेरो चलन हुन गएको छ, म तपाईंका आदेशहरू पालन गर्छु। तपाईं मेरो भाग हुनुहुन्‍छ, हे परमप्रभु, तपाईंका वचनहरू पालन गर्ने, मैले प्रतिज्ञा गरेको छु। मैले सम्‍पूर्ण हृदयले तपाईंका मुहारको खोजी गरेको छु, तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌। मैले आफ्‍नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्‍ना कदम चालेको छु। म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु। दुष्‍टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका खातिर मध्‍यरातमा तपाईंमा धन्‍यवाद चढ़ाउन उठ्छु। तपाईंको भय मान्‍नेहरू र तपाईंका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ। हे परमप्रभु, तपाईंको प्रेमले पृथ्‍वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। हे परमप्रभु, तपाईंले आफ्‍नो वचनअनुसार आफ्‍नो दासको उपकार गर्नुहोस्‌। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्‌, किनकि म तपाईंका आज्ञामाथि विश्‍वास राख्‍तछु। म कष्‍टित हुनुभन्‍दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्‍छ अनि भलाइ गर्नुहुन्‍छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्‍पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्‌, तर म तपाईंको व्‍यवस्‍थामा हर्षित हुन्‍छु। ममाथि क्‍लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्‍न सकूँ। तपाईंको मुखबाट निस्‍केको व्‍यवस्‍था मेरो निम्‍ति सुन र चाँदीका हजारौँ टुक्राभन्‍दा मूल्‍यवान्‌ छ।