YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:49-72

भजनसंग्रह 119:49-72 सरल नेपाली

म तपाईंको दाससँग गर्नुभएको प्रतिज्ञा याद गर्नुहोस्, त्‍यसले मलाई आशा दिएको छ। मेरो कष्‍टको बेलामा पनि मैले सान्‍त्‍वना पाएँ किनभने तपाईंको प्रतिज्ञाले मलाई जीवन दियो। घमण्‍डीहरूले मलाई सधैँ घृणा गर्छन्, तर म तपाईंको व्‍यवस्‍था छोड्‍नेछैनँ। धेरैअघिका तपाईंका न्‍यायहरू म सम्‍झँन्‍छु, हे परमप्रभु, तिनले मलाई सान्‍त्‍वना दिन्‍छन्। दुष्‍टहरूले तपाईंका व्‍यवस्‍था तोडेका देख्‍दा मलाई साह्रै रिस उठ्दछ। पृथ्‍वीको मेरो छोटो जीवनमा म तपाईंका आज्ञाहरूबारे भजन रच्‍दछु। परमप्रभु, राती म तपाईंलाई याद गर्दछु र तपाईंको व्‍यवस्‍थाबारे सोच्‍दछु। तपाईंका आज्ञापालन गर्दा म प्रसन्‍न हुन्‍छु। हे परमप्रभु! म तपाईंलाई मात्र चाहन्‍छु, म तपाईंका व्‍यवस्‍थाहरू मान्‍ने प्रतिज्ञा गर्दछु। म तपाईंलाई आफ्‍नो पूरा हृदयले बिन्‍ती गर्दछु, तपाईंले दिनुभएको प्रतिज्ञाअनुसार ममाथि कृपा गर्नुहोस्। मैले आफ्‍नो चालचलनमाथि विचार गरेको छु र म तपाईंका अर्तीहरू मान्‍ने प्रतिज्ञा गर्दछु। ढिलो नगरी म तपाईंका आज्ञाहरू मान्‍न हतार गर्दछु। दुष्‍टहरूले मलाई पासो थापेका छन्, तर म तपाईंको व्‍यवस्‍था भुल्‍दिनँ। तपाईंका धार्मिक न्‍यायहरूको लागि तपाईंको प्रशंसा गर्न म आधा रातमा जागी उठ्दछु। म तपाईंको सेवा गर्नेहरू र तपाईंका व्‍यवस्‍था मान्‍नेहरू, सबैको मित्र हुँ। परमप्रभु, पृथ्‍वी तपाईंको अनन्‍त प्रेमले भरिएको छ, मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। परमप्रभु, तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ र आफ्‍नो दासलाई उपकार गर्नुभएको छ। मलाई ज्ञान र बुद्धि दिनुहोस् किनभने म तपाईंका आज्ञाहरूमा भरोसा राख्‍छु। तपाईंले मलाई दण्‍ड दिनुअघि मैले गल्‍ती गर्दथें, तर अब म तपाईंको वचन मान्‍दछु। तपाईं कति भलो र दयालु हुनुहुन्‍छ! मलाई आफ्‍ना आज्ञाहरू सिकाउनुहोस्! घमण्‍डी मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनेका छन्, तर म आफ्‍नो पूरा हृदयले तपाईंका अर्तीहरू मान्‍दछु। यी मानिसहरूको केही समझशक्ति छैन, तर म तपाईंको व्‍यवस्‍थामा आनन्‍द पाउँदछु। मैले पाएको दण्‍ड मेरो लागि राम्रै थियो किनभने त्‍यसले मलाई तपाईंका आज्ञाहरू सिक्‍न कर लायो। तपाईंले दिनुभएको व्‍यवस्‍था पृथ्‍वीका सारा धनभन्दा मेरो लागि ठूलो छ।

भजनसंग्रह 119 पढ्नुहोस्